रवि लामिछानेको ‘कोर टिम’मा को-को ?



१. यो अडियो सार्वजनिक हुनेबित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिएको छु कि ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अघि बढाउनु भनेर । ७२ घण्टाको अल्टिमेटम दिएको छु । देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् मलाई मतलब छैन तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि यो प्रश्नको निराकरण हुन्छ । मैले ७२ घण्टाको अल्टिमेटम दिएको २ घण्टा भइसक्यो, ७० घण्टा बाँकी छ । ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिन भनेँ मलाई यही गढीमाईमा बली दिनुहोला । (आइतबार अपराह्न ४ बजेतिर बाराको गढीमाईमा चुनावी सभालाई सम्बोधन)

२. ढुक्क हुनुस्, रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने, पुज्ने पार्टी  होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहँदैनौं । कडाभन्दा कडा कारबाही गर्छौं । आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ । (आइतबार नै राति सवा ११ बजेको फेसबुक स्टेटस)

३. ढाकाकुमार श्रेष्ठले भनेको कुरा बाहिर आएजस्तो हो भने त्यो सार्वजनिक गर्ने मान्छेलाई सम्मान र माला लगाउन म जान्छु र उनको कारबाहीका लागि राइट टु रिकलको प्रक्रिया अघि बढाउँछु । ७२ घण्टाको समय दिएको छु, २० घण्टा बाँकी छ, २० घण्टाभन्दा बढी नै बाँकी छ, ४० घण्टा बाँकी छ । त्यसैले कुनै फरक पर्दैन, यो अभियानका लागि हामी जोडिएका हौं । यो देशको भविष्यका लागि हामी जोडिएका हौं । कयौं युवाहरुको आशा र भसोरा छ । कुनै राजनीतिक कार्यक्रममा यस्ता युवा साथीहरु आएको कहिले देख्नुभएको छ ? युवा भाइबहिनीहरुले कुरा सुनेको देख्नुभएको छ ? (चितवनमा सोमबार बिहान चुनावी सभालाई सम्बोधन)

***

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि सभापति रवि लामिछानेबाट अभिव्यक्त भएका प्रतिबद्धता हुन् यी ।

‘नेपाली जनताले लगाइसके ह्विप, यो उपनिर्वाचनमा रास्वपाको क्लिन स्विप’ नारा दिएर तीनवटै निर्वाचन क्षेत्र हात पार्ने उद्देश्यसहित जुटेका बेला आएको ‘अडियो’ले लामिछाने हतास बनेका हुन् कि गम्भीर ? यतिबाटै स्पष्ट हुँदैन । तर, ठूलो दबाबमा छन् भन्नेचाहिँ प्रस्ट हुन्छ ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि उपप्रधानमन्त्री, गृहमन्त्री र सांसद पद एकसाथ गएपछि लामिछाने केही समय विक्षिप्त नै बनेका थिए । आफ्नो पद गएपछि सरकारबाट पार्टी नै बाहिरिने निर्णय गराएका उनले माघ २२ गते अपराह्न गरेको पत्रकार सम्मेलन पनि ‘काबु’मा थिएन । उनी आफैंले स्वीकारेको तथ्य हो यो ।

भनिन्छ, राजनीतिकर्मी जस्तोसुकै अवस्थालाई पनि ह्यान्डल गर्नु सिपालु हुनुपर्छ अर्थात् कूटनीतिक हुनुपर्छ । तर, टेलिभिजन कार्यक्रम चलाएर लोकप्रिय बनेका लामिछाने दुवै घटनामा ‘कमजोर कूटनीति’ प्रस्तुत गरिरहेका छन् ।

जनतलाई ठूल्ठूला भाषणले होइन, कामले देखाउने हो । ढाकाप्रसादमाथि छानबिन गरेर दोषी देखिए कारबाही गरे पुग्छ, ‘गढीमाईमा बली चढ्न’ तयार हुनै पर्दैन । यस्ता खालका कमजोर अभिव्यक्ति उनको पार्टीपंक्तिमा मात्र होइन, पार्टीका १८ सांसद र घण्टीमा भोट हाल्ने ११ लाख ३० हजार ३४४ मतदातामाथि पनि भारी पर्न सक्छ ।

कतिपयले यो उनैले जिम्मा लिने विषय हो भनेर तर्क गर्न पनि सक्लान् । तर, हेक्का रहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी अब सार्वजनिक सम्पत्ति हो । पार्टीका सांसदहरु सार्वजनिक व्यक्तित्व हुन् । जनताबाट निर्वाचित भएका हरेक सांसद व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै सर्वोच्च निकायलाई खबरदारी गर्न सक्ने हैसियत राख्छन् ।

त्यसकारण कुनै पनि पार्टी र त्यसका सांसदले गर्ने गल्तीले दीर्घकालमा पार्टी सकिएला, त्यसलाई सामान्य विषय-प्रक्रिया मान्न सकिन्छ । तर, उनीहरुले गर्ने सानो गल्तीले देशलाई ठूलो क्षति पनि पुग्न सक्छ भन्ने कुरा नागरिकले बिर्सिनु हुँदैन ।

रह्यो ‘कोर टिम’को कुरा,

राजनीतिज्ञहरुले ‘पैसा बार्गेनिङ’ गरेको यो पहिलो घटना होइन । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो बाहिरियो ।

त्यसबेला चर्को दबाब बढेपछि बाँस्कोटाको मन्त्री पद गयो । तर, उनलाई अरु कारबाही भएन । पैसा बार्गेनिङका विषयमा कतैबाट अनुसन्धानसम्म भएन । उनी मंसिर ४ को निर्वाचनमा एमाले पार्टी र काभ्रे क्षेत्र नम्बर २ का जनताबाट उल्टै पुरस्कृत भए । किनकि, बाँस्कोटा केपी शर्मा ओलीका ‘कोर टिम’का मान्छे थिए ।

तत्कालीन नेकपा माओवादीका नेता कृष्णबहादुर महराले एक चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । २०६७ भदौ १८ गते सार्वजनिक भएको अडियोमा महराले चिनियाँसँग प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको बताएका थिए ।

त्यसबेला महरा कुनै सार्वजनिक पदमा त थिएनन् । तर, उनीमाथि अनुसन्धान नै भएन, कारबाही त परको कुरा । उल्टै महराको राजनीतिक पदोन्नति भयो, उनी सभामुख बने । किनकि, महरा पुष्पकमल दाहाल ‘प्रचण्ड’का ‘कोर टिम’मा थिए ।

अहिले २ करोड रुपैयाँको बार्गेनिङमा पनि रास्वपा सांसद ढाकाकुमारले ‘कोर टिम’को कुरा गरेका छन् । उनले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो । कोर टिम छ, दुई-तीन जनाको । तिनीहरूले भनिराखेका छन् । दुई जति चाहियो भनेर मलाई हिजो । मेरो पक्काचाहिँ पक्का भयो । आज मैले फिक्स गर्नुछ के सर । अब म फेरि आर्थिकमा त्यस्तो साह्रै ऊ छैन । मन्त्री पनि बन्नुपर्‍यो । फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पूरा सुधार पनि गर्नुछ । मैले धेरै गर्नुपर्छ भनेर सोच गरेको छु । त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्ने कुरा हो के अब ।’

संवादअनुसार ढाका ‘कोर टिम’का मान्छे होइनन् । ‘कोर टिम’ले पैसा माग्न लगाएको हो । अर्थात्, ढाकाकुमार हतियार बनाइएका हुन् ।

त्यसो भए, रवि लामिछानेको ‘कोर टिम’मा को-को छ त ! संवादमा भनिएअनुसार पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल पनि त्यससँग अनभिज्ञ छन् । रास्वपाले टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

साथै, छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले समेत कुनै पनि काम-कारबाही नगर्न नगराउन ढाकाप्रसादलाई निर्देशन दिएको छ । समितिले ढाकाप्रसादसँग २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ । तर, उनले उल्लेख गरेको ‘कोर टिम’को विषयमा रास्वपाको विज्ञप्तिमा कतै उल्लेख छैन ।

रास्वपाका पदाधिकारी, रास्वपा सभापति रवि लामिछानेसँगका अत्यन्तै निकटमा केही व्यक्तिले पार्टीमा ‘कोर टिम’ छ भन्ने थाहा नभएको बताएका छन् । रास्वपा उपसभापति डीपी अर्याल रास्वपामा कोर टिम भन्ने कुनै घोषित-अघोषित संयन्त्र नै नभएको बताउँछन् ।

‘हामी पार्टीको केन्द्रीय समितिमा विषयवस्तुको गहनता र आवश्यकताअनुसार विधिसम्मत प्रक्रियाले छलफल गर्छौं,’ उनले भने, ‘छुट्टै बैठक या निर्णय गर्ने खालको तीन जना, पाँच जना या सात जनाको या अरु कुनै खालको टिम रास्वपामा छैन ।’

‘कोर टिम’को कुरा आफूहरुले पनि हिजोको अडियोबाटै थाहा पाएको उनले बताए । ‘रास्वपामा हन्ड्रेड पर्सेन्ट त्यस्तो संयन्त्र छैन र बन्दैन पनि,’ उपसभापति अर्यालले भने, ‘म पार्टीको उपसभापति हुँ, कोर टिम थियो भने मैले नै थाहा नपाउने भन्ने त नहोला !’

सञ्चार संस्थाहरुमा लामो समय रवि लामिछानेको निकटस्थ भएर काम गरेका र अहिले पनि निकट सम्बन्धमा रहेका एक जनाले पनि रास्वपामा ‘कोर टिम’बारे आफूले अहिलेसम्म सुइँको नपाएका बताएका छन् । ‘म रवि दाइसँग अहिले पनि निकै निकटमा छु,’ नाम नबताउने सर्तमा उनले भने, ‘तर कोर टिमबारे थाहा थिएन ।’

सभापति लामिछानेकै परिवारका एक सदस्यले पनि ‘कोर टिम’बारे थाहा नपाएको बताए । ‘मैले राजनीतिक रुपमा त्यति धेरै चासो राख्ने गरेको त छैन,’ उनले भने, ‘तर कोर टिम थियो भने थाहा नै नहुने गरी टाढा भने छैन ।’ कोर टिमको नाममा पैसा उठाएर पार्टीपंक्तिलाई बदनाम गर्न खोजिएको उनको तर्क छ ।

एमाले र माओवादीले ५० र ७० करोडमा मुछिएका नेताहरुलाई उन्मुक्ति दिएको र पुरस्कृत गरेको घटना धेरै पुरानो होइन । रास्वपाले २ करोडको घटना पुष्टि भए सांसद ढाकाप्रसादलाई पार्टीबाटै मिल्काउने बताएको छ । त्यसो भयो भने रास्वपामाथिको टिप्पणी अलि फरक ढंगको हुनसक्छ ।

रास्वपामा सभापति, उपसभापति, महामन्त्री, सह-महामन्त्री, सह-कोषाध्यक्ष र ३४ जना केन्द्रीय सदस्य छन् । अडियोका विषयमा छानबिन गर्न रास्वपा आफैंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने भएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेले चितवन २ बाट पुनः उम्मेदवारी दिएका छन् भने बारा २ बाट रमेश खरेल र तनहुँ १ बाट स्वर्णिम वाग्ले चुनावी प्रतिस्पर्धामा छन् । जनाधार कत्ति पनि नखस्किएको बरु बढेको देखाउन रास्वपा कम्मर कसेर लागेको छ । उपनिर्वाचनलाई मूलत: रास्वपाले प्रतिष्ठाको विषय बनाएको छ ।


क्लिकमान्डु