दुई करोड मागेको अडिओबारे अनुसन्धान भइरहेको छ, प्रमाणित भए कारबाही: गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको अडिओको अनुसन्धान हुने बताएका छन् ।

सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको र प्रमाणित भए कारबाही हुने बताए ।

‘दुई करोडको कुरा आएको छ । त्यसमा आधिकारिक प्रक्रियाबाट निष्कर्षमा पुगिसकेका छैनौँ । अनुसन्धानबाट जे पुष्टि हुन्छ । त्यही अनुसार हुन्छ’ उनले भने । सार्वजनिक भएको अडियोकाबारेमा सम्बन्धित पार्टीका नेताहरु पहिला आफू प्रष्ट हुनु पर्ने उनले बताए ।

रास्वपा सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि आफूसँग पैसा मागिएको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेसहितको कोर टीमलाई रकम बुझाउनु पर्ने भन्दै तत्कालै रकम माग गरेको अडियोमा सुन्न सकिन्छ ।


क्लिकमान्डु