२ करोड मागेका श्रेष्ठलाई दुर्गा प्रसाईंको प्रश्न: यो पैसा रविलाई त बुझाउनुपर्ला नि, हैन ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग रकम माग गरेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

पार्टी सभापति रवि लामिछानेको टीमले आफूसँग रकम मागेको र त्यसबापत तत्काल १ करोड र बाँकी चेक भए पनि हुने श्रेष्ठले बताएका छन् । टेलिफोन संवादमा प्रसाईंले श्रेष्ठबारे विस्तृत बुझ्न खोजेका छन् भने रकम रवि लामिछानेसँग पुग्छ कि पुग्दैन भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ प्रसाईं र डा ढाकाकुमार श्रेष्ठबीचको संवाद

दुर्गा प्रसाईं: ए नमस्ते के छ हालखबर ?

ढाकाप्रसाद श्रेष्ठ : म पनि भर्खर-भर्खर उठेको ।

दुर्गा प्रसाईं: ए अनि त्यही त मैले पनि राति फोन अफ गरेँ । अफ भनेको सुत्न टाइम भएर चार्ज गरेर सुतेँ । अनि खासचाहिँ के हो कुरा अलिकति भन्नु त डाक्टर साब ।

ढाकाप्रसाद: स्वास्थ्य हामीले पाउने भयो… कोर टिम छ । दुई तीन जनाको । तिनीहरूले भनिराखेका छन् । दुई जति चाहियो भनेर मलाई हिजो । मेरो पक्काचाहिँ पक्का भयो । आज मैले फिक्स गर्नुछ के सर । अब म फेरि आर्थिकमा त्यस्तो साह्रै उ छैन । मन्त्री पनि बन्नुपर्‍यो । फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पूरा सुधार पनि गर्नुछ । मैले धेरै गर्नुपर्छ भनेर सोच गरेको छु । त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्नेकुरा हो के अब ।

दुर्गा प्रसाईं: मैले एउटा कुरा बुझ्न खोजेको डाक्टरसाब, राष्ट्रिय स्वतन्त्र पार्टीमा म त डाक्टर भनेको तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ त ।

ढाकाप्रसाद: हैन नि । हामी तीन जना छौं ।

दुर्गा प्रसाईं: को-को छन् ?

ढाकाप्रसाद: म भएँ, तोसिमा र चन्दा कार्की ।

दुर्गा: ए चन्दा म्याम पो हुनुहुन्छ त है । डाक्टर साबको घर कहाँ हो ?

ढाकाप्रसाद: मेरो घर पोखरा हो सर ।

दुर्गा: अनि एमबिबिएस कहाँ गरेको ?

ढाकाप्रसाद: मैले चाइनामा…

दुर्गा: अनि एमडी ?

ढाकाप्रसाद: अहिले मैले एमडी गरेको छैन । एमबिबिएसमात्रै हो । पछिचाहिँ अर्कै पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ ।

दुर्गा: अब हेर्नुस् है धेरै समस्या छ स्वास्थ्य क्षेत्रमा । अब देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिल्यै भनेको छु नि । दुबईमा चेलिबेटीले डान्सबारमा डान्स गर्नुभन्दा नर्स पठाऔं । हो कि हैन । भन्नु त ।
विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ । पढाऔं । कति राम्रो कुरा गरेको मैले । अहिले त मैले डाक्टर उत्पादन गरौं । बरू सय वटा मेडिकल कलेज खोलौं । होकि हैन ।

ढाकाप्रसाद: हो, हो । हो नि ।

दुर्गा: अनि डाक्टरसाबको नाम ढकबहादुर कि के हो ?

ढाकाप्रसाद: ढाकाकुमार श्रेष्ठ ।

दुर्गा: ढाकाकुमार श्रेष्ठ । अच्छा मैले कुरा बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि । तपाईंसँग मैले भन्‍न खोजेको । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।

ढाकाप्रसाद: मुकुलजीलाई त थाहा छैन सर यो । मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…

दुर्गा: ए ।

ढाकाप्रसाद: बाहिर त महामन्त्री नै हो । अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई-तीन जना छुट्टै हुनुहुन्छ । पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि । दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन् । पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन..

दुर्गा: आज फेरि बन्द छ । सुन्नुस है । कुरा । बैंकबाट ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिँदैन । हेर्नुस् है । अब क्लियर कुरा । म दिन्छु । म सहयोग गर्छु । तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।

ढाकाप्रसाद: हैन त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ के गोविन्द केसी देखेर नि । कहिले मर्छजस्तो लाग्छ । एमबिबिएस पढ्न नपाएको पनि तिनैले नै गर्दा हो ।

दुर्गा: अनि मैले मेरो छोरीलाई टोकियो पठाउनुपर्‍यो तीन करोड तिरेर एमडी गराउनको लागि । यहाँ आफ्नोमा रेडिएसन अन्कोलोजी पढाउन पाइन मैले ।

ढाकाप्रसाद: त्यही त सर । यो बेथिति छ ।

दुर्गा: मेरो त हेर्नुस् न कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नुस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अन्चलमा ३२ लाख पपुलेशन छ । म मरेको छु कि छैन भन्नुस् त । म त मर्न मात्रै बाँकी छ ।

ढाकाप्रसाद: त्यही त । यो हटाउनुपर्छ यस्तो कुराहरू । यसको समाधान गर्नुपर्छ ।

दुर्गा: अनि शिक्षाचाहिँ कसले लिने भयो सर ? भाइ ?

ढाकाप्रसाद: शिक्षा हामीलाई परेनजस्तो छ सर ।

दुर्गा: शिक्षाचाहिँ सायद हजुरबुवाले राखेका होलान् ।

ढाकाप्रसाद: अँ होला ।

दुर्गा: किनभने मलाई अफिलियसन दिनुपर्नेछ हजुरबुवाले । अब किनभने सबैकुरा सक्केको छ हौ काठमाडौं युनिभर्सिटीले नि तपाईको अफिलियसन दिएको छ । सिट मात्रै तोकेको छैन । नारायणकाजीको मान्छे हो नी त्यो गिरी । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्‍यो ।

ढाकाप्रसाद: ल निश्चिन्त हुनुहोस् । तपाईं म मिलेर काम गर्ने हो ।

दुर्गा: भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । भोलि बेलुकी नै म काठमाडौं आउला । अब तपाईंलाई गर्ने सहयोग म गर्छु । तपाईंले जुन भन्नुभयो नि दुई । म आएर गरौंला । तर अलिकति टाइम लाग्छ है पैसा त्यत्तिकै निस्किँदैन । हचुवामा । मिलाएर निकाल्न पर्छ । बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो छैन । बाकसमा भ्वाकभ्वाक निकालेर गाह्रो छ । कुरा बुझ्नुभयो के । कसैले पनि दिन सक्दैन आजको आज पैसा ।

दुर्गा: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन ?

ढाकाप्रसाद: अँ.. मैले रवि सरलाईभन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन् क्यार ।

दुर्गा: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । त्यसको पिर नगर्नुस् । उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस् । सत्य कुरा । तपाईं र म भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन पनि गर्नुपर्दैन । म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ ? कुरो बुझ्नुभएन ?

तपाईंलाई म उ दिन्छु । आइडिया दिन्छु । यो दुई करोडको ग्यारेन्टी भयो । म दिन्छु । पिर नगर्नु । तपाईं अघि बढ्नुस् । है । अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नि ? तोसिमा कार्कीले ?

ढाकाप्रसाद: हैन गर्दैनन् । गर्दैनन् । टिमले गरेपछि सक्यो । हामीले रवि सरलाई म्यान्डेट दिएका छौं । उहाँले जसलाई राख्नुभयो राख्नुभयो ।

दुर्गा: ए… ल । अब यस्तो भयो नी त । तोसिमाले पैसा निकाल्न पनि सक्दिनन् । किन भन्नु न । गोविन्द केसीको मान्छे भनेको छ नि कहीँ कुरै गर्न मिल्दैन । उसँग डराउँछन् ।

ढाकाप्रसाद: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी ।

दुर्गा: काम छैन ।

दुर्गा: हस् हस् भाइ । हस् हस् डाक्टर साब ।

दुर्गा: हस् हस् ल ल ।

ढाकाप्रसाद: हस् हस् नमस्कार ।


क्लिकमान्डु