महालक्ष्मी वायर एण्ड केबलले एक वर्षमा गर्‍यो २ अर्ब २० करोड व्यापार, आम्दानी ३०%ले घट्यो



काठमाडौं । कान्तिपुरसहित अन्य दुई ब्रान्डमा वायर एण्ड केबल बेच्ने महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज प्रालिको आम्दानी ३० प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा ३०.२८ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब १६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । तर, सन् २०२२ मा कम्पनीले २ अर्ब २० करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२२ मा ११.३२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ११.५३ प्रतिशत कमाएको थियो । सन् २०१० मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका वायर र केबल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ‘कान्तिपुर केबल’, ‘अरिहान्त केबल’ र ‘महालक्ष्मी वायर एण्ड केबल’ बिक्री वितरण गर्दै आएको छ । त्यस्तै, कम्पनीले पाइप र फिटिङ ‘जल’ ब्रान्ड र पंखा ‘महालक्ष्मी मंखा’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी विभिन्न प्रकारका वस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले आल्मोनियम रोड, कप्पर रोड, स्टिल वायर, पीभीसी र एक्सपीइ जस्ता कच्चा पदार्थ भारत, जापान, ताइवान र अन्य देशबाट आयात गर्दै आएको छ । जसमा कम्पनीले आम्दानी गरेकोमध्ये ८० प्रतिशत कच्चा पदार्थको हिस्सा ८० प्रतिशत रहेको छ ।

गिरिसकुमार लुनिया प्रबन्ध निर्देशक रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब १७ करोड ८४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ५३ करोड ८४ लाख रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि १ अर्ब ६४ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु