नयाँ स्टक र कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिन बोर्डले १५ दिने सूचना निकाल्ने



काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिन १५ दिनको समय दिएर आवेदन माग गर्ने भएको छ ।

असोज २ गते धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिन आवेदन माग गरेको थियो । असोज ३१ गते अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

उक्त रिट निवेदन आज सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेपछि बोर्डलाई प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । सर्वोच्च अदालतले बाटो खुला गरिदिएकाले बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिन १५ दिनको समय दिएर आवेदन माग्ने अध्यक्ष रमेश हमालले बताए ।

बोर्डले असोज २ गते आवेदन खुला गर्दा नयाँ ब्रोकर खोल्न ४५ र पुरानो एकसहित ४६ कम्पनीले आवेदन दिएका थिए । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि कुनै पनि आवेदन परेको छैन ।

नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय १५ दिन बाँकी हुँदा नै सर्वोच्चमा मुद्दा परेर रोकिएको थियो । अब त्यही बाँकी रहेको समय राखेर बोर्डले आवेदन खुलाउने भएको छ ।


क्लिकमान्डु