नयाँ स्टक, ब्रोकर कम्पनी र वस्तु विनिमयलाई लाइसेन्स दिन बाटो खुल्यो



काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेको छ ।

आइतबार अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो । यससँगै धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारलाई लाइसेन्स दिन बाटो खुलेको हो ।

अधिवक्ता दिपक विक्रम मिश्रले धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजारलाई दिन लागेको लाइसेन्सको प्रक्रिया रोक्न माग गर्दै असोज ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि नेपाल धितोपत्र बोर्डले गरेको धितोपत्रसम्बन्धी नियमावली संशोधन संविधानविपरीत नभएको सर्वोच्च अदालतले ठहर गरेको थियो ।

अधिवक्ता अमृत खरेलले संविधान र धितोपत्रसम्बन्धी ऐनविपरीत हुनेगरी बोर्डले नियमावली संशोधन गरेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संवैधानिक इजलासले रिट खारेज हुने फैसला गरेको थियो ।

तर, अधिवक्ता दीपकविक्रम मिश्र निवेदक रहेको रिटले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल थपबारेको संशोधित नियमावली कानुनअनुकूल रहे वा नरहेको निर्क्यौल गर्ने संवैधानिक इजलासको आदेशमा उल्लेख गरिएको थियो ।


क्लिकमान्डु