ठेक्का लागेको वर्ष दिनपछि साढे १४ करोड लागतमा विराटनगर महानगरको प्रशासनिक भवन निर्माण सुरु



विराटनगर । विराटनगर महानगरपालिकाले साढे १४ करोड रुपैयाँ लागतमा नयाँ प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ ।

सो नयाँ प्रशासनिक भवनको निर्माण ठेक्का सम्झौता भएको वर्ष दिनपछि बल्ल निर्माण सुरु भएको हो । भवन निर्माण आयोजनाको सूचना पाटीमा उल्लेख भएअनुसार मूल्य अभिवृद्धि करबाहेक १४ करोड ६३ लाख ५५ हजार ५ सय ९० रूपैयाँमा ठेक्का लागेको छ ।

अघिल्लो आर्थिक वर्षको चैत महिनामा सम्झौता भएको सो भवन निर्माण २४ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । सो सम्झौता अनुसार, आर्थिक वर्ष २०८० साल चैत महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने हो तर चालू आर्थिक वर्षको चैतबाट एक वर्ष ढिलो गरी निर्माण थालिएको छ ।

सो भवनको निर्माण लागत इस्टिमेट १९ करोड ६७ लाख ५७ हजार रुपैयाँ थियो । तर निर्माण कम्पनीले लागत इस्टिमेट रकमभन्दा ५ करोड रुपैयाँ न्यून हुने गरी ठेक्का कबोल गरेको थियो ।

अहिले बन्दै गरेको नयाँ भवनमा संघीय सरकार र महानगरपालिकाको संयुक्त लगानी रहेको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले जानकारी दिए ।

सो भवन निर्माणको ठेक्का अविसा र कालीगण्डकी, विकोन कम्पनीले संयुक्तरुपमा पारेका थिए । तर ठेक्का पारे पनि ती कम्पनीले भवन निर्माणको काम समयमै सुरू गरेनन् । त्यसपछि ठेक्का लिने ठेकेदारलाई खोजेर पुनः काम लगाउनु परेको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए ।

नयाँ भवन बन्न लागेको ठाउँमा यसअघि विराटनगर महानगरपालिकाको पाहुना घर थियो । सो पुरानो भवनलाई भत्काएर अहिले सो ठाउँमा नयाँ भवन बनाउन थालिएको हो ।

महानगरपालिकाले नै समयमा पुरानो भवन नभत्काएकोले समयमै काम अघि बढ्न नसकेको निर्माण कम्पनीले जनाएको छ । अहिले सञ्चालनमा रहेको महानगरपालिकाको प्रशासकीय भवन पुरानो, जीर्ण र निकै सानो पनि भएकाले नयाँ बनाउन लागिएको प्रशासकीय प्रमुख कोइरालाको भनाइ छ ।


क्लिकमान्डु