दाना र ह्याचरीको तस्करी बढ्दा नेपाल अस्वस्थ कुखुराको ‘डम्पिङ साइड’, डेढ खर्ब जोखिममा



काठमाडौं । भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी हुँदा नेपाल भारतीय अस्वस्थ कुखुराको ‘डम्पिङ साइड’बनेको व्यापारीले जनाएका छन् ।

जसका कारण एक खर्ब ६० अर्ब लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्रीलाई भेटेर नेपाल पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको भए पनि भारतबाट तस्करी बढ्दा लगानी जोमिखमा परेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरी भारतीय कुखुराको तस्करी रोक्न आग्रह गरेका हुन् ।

५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै आएको ब्यवसाय अबैध तस्करीले संकटमा परेको उनीहरुको भनाइ छ ।

‘नेपालको पोल्ट्री क्षेत्रमा सबै भन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ । भारतीय सीमा नाकाहरुबाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेसालाई अत्यन्त ठूलो जोखिम रहेको छ’ दुबै संघले गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग भित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजस्वमा पनि असर परिरहेको उनीहरुको भनाइ छ ।

भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरुमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाइ गर्न आग्रह गरेका हुन् ।

नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरुबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ ।

विशेष गरी भारतीय सीमा नाकाहरुका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरुले भारतबाट अवैध रुपमा कुखुरा आयातगरि ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरुमा कुखुराको मासु निर्यात गरिरहेको, भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ ।

सीमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिदै आएको छ।

दुबै संघले भारतीय सीमा नाकाहरुबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरुको नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन दिन गृहमन्त्रीसँग माग गरेका छन् ।

ब्यबसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिनेगरि अगाडि बढेको बताएका थिए । आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधी सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाही दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई निर्देशन जारी हुने बताए ।


क्लिकमान्डु