हानले अर्थमन्त्रीलाई भन्यो- बैंकलाई साँवा र ब्याज बुझाउन सकिएन, सहजीकरण गरिदिनुपर्‍यो



काठमाडौं । होटल संघ नेपाल (हान) ले होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा समावेश गर्न माग गरेको छ । हानका अध्यक्ष सृजना राणासहितको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा.  प्रकाशशरण महतलाई भेटेर बुधबार होटल क्षेत्र संकटमा परेकाले सरकारले विशेष दृष्टि राखिदिनुपर्ने बताएको हो ।

अर्थमन्त्री महतसँगको भेटमा संघका अध्यक्ष राणाले कोभिड १९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको र पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायी पलायन हुने अवस्थामा पुगेको जानकारी गराइन् ।

अध्यक्ष राणाले कोरोनाको प्रकोप पहिलेको अवस्थामा नभए पनि पर्यटक आवागमन र गतिविधिमा कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परिरहेको गुनासो गरिन् । ‘होटल अझै पनि घाटामा सञ्चालनमा गर्नुपरेको छ,’ उनले अर्थमन्त्रीसमझ भनिन्, ‘देशभरका होटल व्यवसायीका यी साझा समस्या हुन्, यी समस्या समाधानमा पहल गरिदिन आग्रह छ ।’

अर्थमन्त्रीसमक्ष होटल संघले राखेका ४ माग

राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सम्बन्धमाः धेरै धनराशि खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह आगामी बजेट र कानुनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गरिदिनुहुन माग गर्दछौं ।

ब्याजदर सम्बन्धमाः व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर हो । होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी ब्याजदर अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षित गर्न प्रतिकूल देखिएकाले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिनुहुन अनुरोध ।

समय सीमा सम्बन्धमाः होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योग हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र ब्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकाले देशैभरका होटल व्यवसायी आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजीकरणका लागि हार्दिक अनुरोध ।

पुन: तालिकीकरण र पुनर्कर्जा सम्बन्धमाः मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुन: तालिकीकरण र पुनर्कर्जा सुविधा अब हुने समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन विशेष अनुरोध ।

भेटमा संघका प्रथम उपाध्यक्ष विनायक शाह, द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कार्यसमिति सदस्य युवराज श्रेष्ठ तथा कानुनी सल्लाहकार गान्धी पण्डितको उपस्थिति थियो ।


क्लिकमान्डु