तत्काल ब्याजदर घटाउनुपर्छ: अञ्जन श्रेष्ठ



काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले तत्काल ब्याजदर घटाउनु पर्ने बताएका छन् । अहिलेको अवस्था ब्याजदर घटाएर लगानी बढाउने रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका श्रेष्ठले बुधबार घोषणापत्र सार्वजनिक गर्दै लगानी वृद्धिका लागि नियामकले ध्यान दिनु पर्ने बताए ।

अहिले व्यवसायी उद्योगीहरु पीडामा रहेको भन्दै उनले यो बेला महासंघमा सक्षम नेतृत्व चाहिने उल्लेख गरे । ‘मसँग मन मिल्ने, मिलाउन सक्ने सक्षम समूह छ । यसले उद्योगी व्यवसायीहरुको हितमा काम गर्ने छ’ उनले भने ।

५० बर्षअघि ३०० बाट सुरु गरेको आफ्नो पारिवारिक व्यबसायले अहिले ११ मुलुकमा निर्यात गरिरहेको श्रेष्ठले बताए । आफ्नो व्यवसाय युवा पिँढीका लागि उदाहरणीय बन्न सक्ने उनले बताए ।

१५ वर्षदेखि महासंघको कार्यसमितिमा रहेर काम गरेको अनुभाव आफूसँग रहेको भन्दै उनले निजी क्षेत्रलाई नजिकबाट नियालेको, साना तथा मझौला व्यबसायीको समस्या बुझेको र समाधान गर्ने क्षमता रहेको बताए । उनले आफू नेतृत्वमा गएपछि समस्या समाधन हुने दाबी गरे ।

श्रेष्ठले तरलता अभावले अर्थतन्त्र धरासायी बन्न लागेको भन्दै राज्यको छोटो सोचले तत्कालका लागि समस्या समाधान गर्दा अहिलेको अवस्था आएको बताए । आन्तरिक रोजगारीमा कमी, वैदेशिक रोजगारीमा वृद्धिले मुलुकको अर्थतन्त्रमा असर गर्ने उनको भनाइ छ ।

उद्योगी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सही नभएको उनको टिप्पणी छ ।

‘हामी रोजगारी दिन्छौं, कर तिर्छौं । तर,हामीलाई हेर्ने दृष्टिकोण भएन’ उनले भने, ‘राज्यले निचोर्ने मात्रै होइन हामीलाई हेर्ने दृष्टिकोण बदलिन आवश्यक छ ।’

नाडा अध्यक्ष ध्रुव थापाले व्यवसायीको हितमा काम गर्ने समूहलाई नेतृत्वमा ल्याउनु पर्ने बताए ।


क्लिकमान्डु