तुलसी सहकारीका ९ सञ्चालकसहित कर्मचारीविरुद्ध ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर



विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक, कर्मचारी र लेखापरीक्षकविरुद्ध मुद्दा दर्ता भएको छ ।

सहकारीका ९ जना सञ्चालकसहित कर्मचारी र लेखापरीक्षक विरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै ठगी मुद्दा दर्ता गरेको हो ।

यसअघि १ हजार २ सय ९७ बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता गराइदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए ।

न्यूनतम ३ हजारदेखि करोडसम्म

डेढ महिनाअघि विराटनगर-२ स्थित सहकारीको प्रदेश कार्यालयमा बचतकर्ता ३ हजार रुपैयाँको चेक साट्न गए । त्यो चेक नसाँटिएपछि सहकारीको कारोबारमाथि आशंका उत्पन्न भएको थियो ।

त्यसपछि सयौं बचतकर्ता विराटनगरसहित झापा र उदयपुरको सेवा केन्द्रमा बचत रकम फिर्ता माग्दै प्रदर्शनमा उत्रिएका थिए । बचतकर्ताले सहकारीमा न्यूनतम ३ हजारदेखि बढीमा करोड रुपैयाँभन्दा बढी बचत गरेको उजुरीमा उल्लेख छ ।

सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत र साधारण बचतलगायत खाताहरुमा सर्वसाधारणबाट बचत र निक्षेप संकलन गर्दै आएको पाइएको छ ।

सेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज पाइने, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने प्रलोभनमा पारेर निक्षेप संकलन गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।

चार पक्राउ, अध्यक्ष फरार

सहकारीको कार्यसमितिमा १० जना छन् । प्रहरीले दुई जना पदाधिकारी, एक जना कर्मचारी र एक जना लेखा परीक्षकलाई पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी घर भएकी उपाध्यक्ष अनिता गौतम, झापाको भद्रपुर घर भई विराटनगर बस्ने सचिव सविना न्यौपाने, लेखा परीक्षक विराटनगरका शीतल चन्द र विराटनगर नै घर भएका क्षेत्रीय प्रबन्धक मन्दिप खवास छन् ।

सहकारी संस्थाका अध्यक्ष विराटनगरका केदारनाथ शर्मासहित सहकारीका सदस्य बन्टी अधिकारी, निर्मला भट्टराई र छविलाल विश्वकर्मा आदित्यराज भट्टराई र प्रबन्धक सुरुची पोखरेल फरार छन् ।

उनीहरु ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । अध्यक्ष शर्मा भारतमा लुकेर बसेको प्रहरीको अनुमान छ । उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । अध्यक्ष शर्माले सहकारीको ठूलो बचत रकम लगेर भारतको शिखर कम्पनीमा लगानी गरेको बताइएको छ ।

नेपालभर कार्यक्षेत्र रहेको २०५२ चैत १३ मा दर्ता भएको तुलसी सहकारीको विराटनगरमा केन्द्रीय कार्यालय छ । सहकारीले झापा, उदयपुर र सिरहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरेर आर्थिक कारोबार गर्दै आएको थियो । सहकारीले सर्वसाधारणबाट करिब २ अर्ब रुपैयाँ बचत संकलन गरेको प्रहरीको अनुमान छ ।

कार्यालय र सेवा केन्द्र बन्द

सञ्चालकहरुले सहकारीमा जम्मा भएको रकमलाई सहकारी ऐन र कानुनविपरीत विभिन्न सहायक कम्पनी खोल्ने र लगानी गर्ने गरेको खुलेको छ । सहकारीले झापाको दमक र उदयपुरको गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सञ्चालन गरेको थियो । आर्थिक समस्या परेपछि स्टोरहरु बन्द छन् । त्यस्तै विराटनगरको सहकारीको क्षेत्रीय कार्यालय पनि बन्द छ ।

यसअघि सहकारीका उपाध्यक्ष गौतमको अध्यक्षतामा बसेको बैठकले बचत फिर्ता गर्न असमर्थ रहेको स्थिति आएको जनाउँदै उचित समाधानका लागि सहकारी विभाग र विभिन्न निकायहरुलाई अनुसन्धान गर्न-गराउन पत्राचार गर्ने निर्णय गरेको थियो ।

बैठकले आर्थिक वर्ष २०७१/७२ सालदेखि सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, पदाधिकारीको एकाघर र तीन पुस्ते आफन्तको बैंक खाता रोक्का गर्न पत्राचार गर्ने, उनीहरुको निजी सम्पत्ति जग्गा, जायजेथा, चल-अचल सम्पत्ति रोक्का गराउने, संस्थामा आबद्ध भएका व्यवस्थापक, शाखा प्रबन्धक तथा शाखा इन्चार्जहरुको सम्पूर्ण चलअचल सम्पत्ति रोक्का गर्ने, सहकारीको भगिनी संस्थाहरु र संस्थाले ऋण दिएर सञ्चालनमा आएका संस्थाका सञ्चालक र व्यवस्थापकको समेत सम्पूर्ण बैंक खाता र चलअचल सम्पत्ति रोक्का गर्ने तथा लेखा परीक्षक नियुक्ति गर्ने निर्णय पनि उनले गराएकी थिइन् ।


क्लिकमान्डु