आजबाट आईपीओ निष्कासन गरेको सिटी होटलको साढे १९ करोडको व्यापार, ३ अर्ब ऋण लिँदै



काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट साधारण सेयर (आईपीओ) निष्कासन गरेको सिटी होटलले एक वर्षमा १९ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

होटलले आम्दानी गरेकोमध्ये ४० प्रतिशत आम्दानी कोठाको लजिङ र सेवाबाट भएको जनाएको छ । त्यसपछि, खाना र पेय पदार्थलगायत इसेन्टिभ्स, कन्फ्रेन्स र एक्जिविसनबाट ५६ प्रतिशत आम्दानी गरेको छ ।

होटलले सन् २०२२ मा १६.०२ प्रतिशतले नाफा बढाएको बताएको छ । आगामी दिनमा भने क्षमता बढ्न गई आम्दानी बढ्ने अपेक्षा कम्पनको छ । होटलले चालू आर्थिक वर्षको ६ महिनामा २१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

काठमाडौं सोल्टिमोडमा सञ्चालनमा रहेको पाँच तारे सिटी होटलले आजबाट विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता सय रुपैयाँको दरले १ लाख ६७ हजार ४ सय कित्ता जारी गरेको छ । गोल्यान ग्रुपद्वारा सञ्चालित उक्त होटल ‘हायात प्लेस’ ब्रान्डमा सञ्चालनमा छ । होटलमा १५३ कोठा छन् ।

सन् २०२१ देखि व्यापार गर्न थालेको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २५ करोड ६५ रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब १७ करोड ६२ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ८ करोड ३ लाख रुपैयाँ अर्थात् ए फोर रेटिङ पाएको छ ।

होटलमा ग्राहकका लागि आधुनिक प्रकारका सेवा सुविधा दिँदै आएको छ । होटलमा एनिमिटिस, स्पा, कन्पलरेन्स हल, क्यासिनो र अन्य सेवा सुविधाको उपलब्ध छ ।


क्लिकमान्डु