बैंक तथा वित्तीय संस्थाले २४ सै घन्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २४ सै घन्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने भएको छ ।

विद्युतीय माध्यमको प्रयोगलाई भरपर्दो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउनसक्ने सेवाग्राहीको गुनासो सुनुवाइ गर्न सेवा प्रदायकले कम्तीमा १६ घण्टा (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) सेवा दिनुपने छ ।

यस्तै कार्डसम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने र प्रत्येक संस्थाले गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्बर र इमेल ठेगाना संस्थाको वेबसाइटमा राख्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले स्मरण गराएको छ ।

प्रविधिको प्रयोगसँगै नगदरहित कारोबार सजिलो, विश्वासिलो र पारदर्शी हुँदै गएको राष्ट्र बैंकको धारणा छ । क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड जस्ता विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबारमा बानी बसाल्न सेवाग्राहरुलाई केन्द्रीय बैंकले यस्तो आग्रह गरेको हो ।

यस्ता सेवा लिँदा कुनै समस्या भएमा सम्बन्धित संस्थाको हेल्प डेस्क तथा गुनासो सुन्ने अधिकारीलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु