बैंकरलाई अर्थमन्त्रीले भने- सबै मिलेर अर्थतन्त्र उकासौं, ब्याजदर घटाउनूपर्ने दबाब छ



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको भन्दै सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल बैंकर्स संघका पदाधिकारीलाई मन्त्रालयम भेट गर्दै अर्थमन्त्री महतले समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरे ।

‘अर्थमन्त्रीज्यूले सबै मिलेर हातेमालो गरेर अघि बढौं, समस्याको समाधान गरौं भन्नुभएको छ,’ मन्त्री महतको भनाइ उदृत गर्दै बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने क्लिकमाण्डुसँग भने, ‘मन्त्रीज्यूसँगको छलफलले हामी उत्साहित भएका छौं ।’

बैंकरसँगको छलफलमा मन्त्री महतले उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको टोली ब्याजदर बढी भइरहेको भन्दै गुनासो गरिरहेको भन्दै कसरी ब्याजदर घटाउन सकिन्छ भनेर सोधेका थिए ।

‘व्यवसायी साथीहरुले ब्याजदर बढी हुँदा समस्या पर्यो भनिरहनु भएको छ, कसरी ब्याजदर घटाउन सकिन्छ ?’ मन्त्री महतले बैंकरलाई सोधे ।

बैंकरहरुले अर्थमन्त्रीलाई पछिल्ला महिनाहरुमा क्रमिकरुपमा ब्याजदर घट्दै गइरहेको ब्रिफिङ गरे । प्रणालीमा पुँजी नभएको भन्दै सरकारी खर्च बढाउन आग्रहसमेत गरे ।

‘सरकारले पुँजीगत खर्च बढाएर र ठेकेदारको भुक्तानी गरेर प्रणालीमा तललता थप्न नसके ब्याजदर यो भन्दा तल जानसक्ने अवस्था छैन,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीलाई ब्रिफिङ गरे ।

प्रणालीमा तरलता थप गर्न सरकार तयार रहेको अर्थमन्त्री महतले प्रतिवद्धता जनाए । र, ब्याजदरका विषयमा राष्ट्र बैंकका गभर्नरसँग पनि कुराकानी भइरहेको भन्दै ढुक्क हुन आग्रह गरे ।

‘गभर्नरसँग पनि मेरो कुराकानी भइरहेको छ, हामी मिलेरै काम गर्छौं,’ मन्त्री महतले भने, ‘तपाईंहरुले पनि यो संकटबाट अर्थतन्त्रलाई उकास्न सहयोग गर्नुपर्छ ।’


क्लिकमान्डु