अर्थमन्त्रीलाई परिसंघको सुझावः सेयर बजारमा जाने मार्जिन लेन्डिङमा जोखिमभार १००% मा झार्नुपर्‍यो




काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ ।

परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाउन, तरलता सहज गराउन र लगानीका लागि प्रोत्साहन गर्न सुझाव दिइएको बताए । यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम हुन पाएमा अर्थतन्त्रमा छिटो सुधार आउने उनले विश्वास व्यक्त गरे ।

ब्याजदर घटाउन एवं तरलताको स्थिति सहज बनाउन सीआरआर ३ प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको शतप्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि परिसंघले दिएको छ

यस्तै मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम ५ प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयर बजार तथा घरजग्गामा जाने मार्जिन लेन्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । निर्माण क्षेत्रको भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्ने परिसंघको विश्वास छ ।

परिसंघको सुझाव लिँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सकारात्मक ‘सेन्टिमेन्ट’ सिर्जना गर्न लागि पर्ने बताए । ‘अर्थतन्त्र सुधारका लागि सकारात्मक सेन्टिमेन्ट निर्माण गर्न पूर्ण रूपमा लाग्नेछौं । जहाँबाट समस्या आएको छ, त्यहीँबाट सुधार गर्न तयार छौं । त्यसमा तपाईंहरुको पनि सहयोग आवश्यक पर्छ,’ महतले भने, ‘यसका लागि परिसंघसँग सहकार्य गर्न सरकार तयार छ ।’


क्लिकमान्डु