तीन वर्षमा चाँदीको मूल्य शतप्रतिशत बढ्यो, खपतमा छैन प्रभाव



काठमाडौं । तीन वर्षमा चाँदीको मूल्य शतप्रतिशत बढेको छ । कोरोना अघिसम्ममा चाँदी प्रतितोला ७ सय रुपैयाँमा किनबेच हुँदै आएकोमा अहिले १४ सय नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७६ चैत २० गते चाँदी प्रतितोला ७२० रुपैयाँ थियो । अहिले १४ सय १० रुपैयाँ पुगेको छ, जुन ९५.८३ प्रतिशतको वृद्धि हो ।

नेपालमा २०७३ चैतमा प्रतितोला चाँदी ८ सय रुपैयाँहाराहारीमा किनबेच भएको थियो । त्यस्तै, २०७४, २०७५ र २०७६ चैतमा भने घटबढ भई प्रतितोला ७ सय हाराहारी मूल्य कायम भएको थियो ।

कोभिडपछि भने सुनसँगै चाँदीको मूल्य ह्वात्तै बढेको  हो । २०७७ चैतमा प्रतितोला चाँदीको मूल्य १२ सय रुपैयाँमाथि कारोबार भएको थियो । २०७८ मा १३ सयसम्म र २०७९ मा १४ सयभन्दा माथि पुगेको छ ।

चाँदीको मूल्य तीन वर्षको अवधिमा शतप्रतिशत बढ्दा पनि खपतमा भने प्रभाव नपरेको व्यवसायी बताउँछन् । चाँदीको मूल्यले बजारको खपतमा असर नदेखिएको महासंघका महासचिव धर्मसुन्दर बज्रचार्यले बताए ।

मूल्य कम भएकाले मूल्यवृद्धिले उपभोक्तालाई खासै असर नपरेको हो । ‘सुनको मूल्य घटबढ हुँदा बजारमा उच्च प्रभाव पर्छ, चाँदीमा भने मूल्य घटबढले कुनै फरक पर्दैन,’ उनले क्लिकमान्डुसँग भने ।

बजारमा अहिले सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । जसले गर्दा माग निकै कम भएको छ । चाँदी विभिन्न चाडपर्वमा बढी प्रयोग हुने भएकाले मूल्य बढे पनि उपभोक्ताले चाहेजति खपत गर्दै आएको उनको बुझाइ छ । ‘चाँदी सस्तो हुँदा धेरै खपत हुने र महँगो हुँदा कम खपत हुन्छ भन्ने हुँदैन । यसको कारोबार निरन्तर एकैनासले हुँदै आएको छ,’ उनले भने ।

चाँदी आयातको तथ्यांकले पनि मूल्यवृद्धिले खपतमा कमी नआएको स्पष्ट पार्छ । तर, मूल्यवृद्धिका कारण आयातका लागि पैसा बिदेसिने परिमाणमा भने वृद्धि भएको छ ।

नेपालमा आव २०७३/७४ मा ८ अर्ब ६० करोड ७५ लाख रुपैयाँको १ लाख ४० हजार ६७६ किलो चाँदी आयात भएको थियो । त्यस्तै, आव २०७४/७५ मा १० अर्ब १९ करोड ३० लाख रुपैयाँको १ लाख ८७ हजार ८०२ किलो र आव २०७५/७६ मा ७ अर्ब २० करोड ६० लाख रुपैयाँको १ लाख २९ हजार २५२ किलो चाँदी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

कोरोनाको समयमा भने चाँदीको आयात ह्वात्तै घटेको थियो । नेपालले आव २०७६/७७ मा ६ अर्ब १ करोड रुपैयाँको ९२ हजार १९ किलो र आव २०७७/७८ मा ७ अर्ब ३२ करोड ६९ लाख रुपैयाँको ७२ हजार ७४६ किलो चाँदी आयात गरेको थियो । आव २०७८/७९ मा भने १३ अर्ब ९ करोड २९ लाख रुपैयाँको १ लाख ३८ हजार ५०१ किलो चाँदी आयात भएको छ ।

गत वर्ष चाँदी आयात उच्च भएको भन्दै नेपाल राष्ट्र बैंकले पैठरीमा कडाइ गरेको थियो । उक्त कडाइले गर्दा चालू आर्थिक वर्षको चैतसम्ममा भने ६७ करोड ४७ लाख रुपैयाँको ७ हजार ९७ किलो मात्रै आयात भएको छ ।


क्लिकमान्डु