बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्योः अध्यक्ष गोल्छा




काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीबीच भेट भएको छ ।

भेटमा अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव दिए ।

सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले अवसरमा जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनले आग्रह गरे ।

अहिले सरकारसंग राजस्व कम उठेको भन्दै चालु खर्च धान्न मुस्किल पर्न थालेको र बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष गोल्छाले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुरयाउने सुुझाव दिए ।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसग पहल गर्नुपर्ने बताउदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न आग्रह गरे ।

निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न अध्यक्षले जोड दिए । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए ।

अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए ।

‘तपाईहरुको मनोवल घट्न दिन्न तपाईहरुसंग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु’, नवनियुक्त अर्थमन्त्री डा. महतले महासंघसंगको भेटवार्तामा भने ।


क्लिकमान्डु