नगद प्रवाह योजना तर्जुमा समिति बनाउने अर्थमन्त्री महतको पहिलो निर्णय



काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गरेका छन् ।

शुक्रबार अर्थमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री महतले आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को व्यवस्था अनुसार नगद प्रवाह योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरेका हुन् ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा बन्ने तदर्थ समितिमा महालेखा नियन्त्रण कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, सार्वजनिक ॠण व्यवस्थापन कार्यालयका प्रमुख, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, अन्तर्राष्ट्रिय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख रआर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सदस्य रहेन छन् ।

सरकारको कोषको अवस्था र सरकारको नगद प्रवाह विश्लेषण गर्दै सरकार स्रोतको सुझाव दिने समितिले काम गर्नेछ ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) सँग विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा पनि नगद प्रवाह सम्बन्धि विश्लेषण गर्ने समिति बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।


क्लिकमान्डु