को हुन् नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महत ?



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् ।

गठबन्धन दल नेपाली कांग्रेसका तर्फबाट महत अर्थमन्त्री बनेका हुन् । उनीसहितका मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

को हुन् महत ?

अर्थतन्त्र संकटमा रहेको बेला महत अर्थमन्त्री नियुक्त भएका हुन् । प्रतिनिधि सभाका सदस्य महत कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।

महतले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका थिए । उनी २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिकामा लागेका थिए । त्यतिबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । २०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका छन् ।

उनले गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथाप्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका रहेर काम गरेका थिए ।

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा सुरु गरेका महतले पहिलो संविधानसभा २०६४देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म संविधान सभा सदस्यको रुपमा काम गरेका थिए ।

नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालेका गरेका महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए ।

उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । उनले २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र राज्य मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी दिइएको थियो ।

२०६६ देखि २०६७ सम्म (सन २००९ देखि २०११ सम्म) उनी उर्जा मन्त्री भए । नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका छन् भने उनले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका महतले ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड’ नामको किताब पनि लेखेका छन् ।


क्लिकमान्डु