उधारो नउठेपछि बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढ्यो, दबाबमा बैंकहरु



उधारो उठाउन ठूला व्यवसायीले बैंक ग्यारेन्टी दाबी गर्ने क्रम बढेपछि बैंकले नियमित साँवा ब्याज नतिरेका ऋणीलाई फोर्स लोन दिँदै रकम भुक्तानी गर्नुपरेको छ । जसका कारण बैंकहरु दबाबमा परेका छन् ।

काठमाडौं । व्यापारीले उधारो तिर्न छाडेपछि बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्ने क्रम ह्वात्तै बढेको छ । नेपालस्थित विदेशी कम्पनीका राष्ट्रिय वितरक र स्वदेशी कम्पनीले बैंक ग्यारेन्टीका आधारमा उधारो कारोबार गर्दै आएका थिए ।

विगत वर्षहरुमा केही रकम उधारो बाँकी भए पनि बैंक ग्यारेन्टी नवीकरणका लागि स्वीकृति दिने गरेको राष्ट्रिय वितरक र विभिन्न कम्पनीले अहिले भने बैंक ग्यारेन्टी दाबी गर्दै उधारो असुल गर्न थालेका छन् । उधारोमा सामान किनेका व्यवसायी सम्पर्कमा नै नआएपछि बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्नुपरेको एक व्यवसायी बताउँछन् ।

‘पहिला हामीलाई पनि बैंकले सहजै कर्जा दिन्थ्यो, जसले गर्दा २०-२५ करोड उधारो ठूलो हुन्न थियो,’ ती व्यवसायीले भने, ‘अहिले ब्याजदर बढेको छ, बैंकले थप कर्जा दिन मानेको छैन । उधारो कारोबारका कारण व्यवसायीको गोदाममा सामान पनि छैन । पैसा पनि दिन मान्नु हुन्न । जसले गर्दा बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्नु हाम्रो बाध्यता हो ।’

गत वर्षसम्म महिनामा ५ देखि १० वटा बैंक ग्यारेन्टीको भुक्तानी गर्ने गरेकोमा पछिल्लो दिनमा दैनिक १० देखि १५ वटा बैंक ग्यारेन्टीको भुक्तानी गरिरहेको एक बैंकका कर्मचारी बताउँछन् ।

‘चालू आर्थिक वर्षको ८ महिनामा हाम्रो बैंकले ६ सयभन्दा बढी बैंक ग्यारेन्टीको करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । पुसयता बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढेको छ,’ ती कर्मचारीले भने, ‘अन्य बैंकमा पनि बैंक ग्यारेन्टीको भुक्तानी माग्ने क्रम बढेपछि हामीले ३ महिनादेखि नयाँ बैंक ग्यारेन्टी जारी गरेका छैनौं ।’

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार बैंक ग्यारेन्टीको भुक्तानी माग गर्दै बैंकमा पत्र प्राप्त भएको ७ दिनभित्र भुक्तानी दिनैपर्ने हुन्छ । हिताधिकारीले भुक्तानी मागेको सात दिनभित्रमा सम्बन्धित बैंकबाट भुक्तानी नपाएको प्रमाणसहित निवेदन दिएमा राष्ट्र बैंकले सम्बन्धित बैंकको खाताबाट रकम कट्टा गरी निजलाई भुक्तानी दिन सक्ने व्यवस्था एकीकृत निर्देशनमा छ ।

यस्तै, सर्वोच्च अदालतले बैंक ग्यारेन्टीको दाबी भुक्तानी तत्कालै गर्नुपर्ने नजिर प्रतिपादन गरेको छ । बैंक ग्यारेन्टीको भुक्तानीमा अदालतले हस्तक्षेप गर्नु हुँदैन भन्ने सिद्धान्त करिस्मा इम्पेक्स (वसन्त शर्मा) विरुद्ध नेसनल ट्रेडिङको मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको छ ।

जसले गर्दा बैंक ग्यारेन्टी भुक्तानीका लागि फोन गरेपछि बैंकहरु आत्तिन थालेको नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी बताउँछन् । ‘मैले नै करिब १६ करोड रुपैयाँ बैंक ग्यारेन्टीमार्फत् दाबी गरेर उधारो असुल गरिसकेको छु,’ ती अधिकारीले भने, ‘देशभरका विभिन्न व्यवसायीले दिएको ४ सयभन्दा बढी बैंक ग्यारेन्टी मसँग छ । उधारो असुल नभएर वित्तीय व्यवस्थापन गर्न समस्या भएको छ । जसले गर्दा बैंक ग्यारेन्टीमार्फत् उधारो असुलीको काम गर्न छुटै विभाग स्थापना गरेर काम भरिरहेका छौं ।’

के हो बैंक ग्यारेन्टी ?

बैंक ग्यारेन्टी भनेको हिताधिकारी अर्थात् कुनै पनि सामान विक्रेतालाई भुक्तानीको सुनिश्चितता गराउने गरी बैंकले जारी गरेको लिखत हो । सामान खरिदकर्ताले निश्चित अवधिमा कुनै रकम भुक्तानी नगरेमा बैंकले सामान विक्रेतालाई भुक्तानी गर्छ भन्ने सुनिश्चित बैंक ग्यारेन्टीको लिखतबाट गरेको हुन्छ ।

बैंकले विक्रेतालाई रकम भुक्तानीको ग्यारेन्टी अर्थात् बैंक ग्यारेन्टी जारी गर्न बैंकले ग्यारेन्टी जारी गर्न माग गर्ने पक्ष वा सामान खरिदकर्ताबाट निश्चित कमिसन लिएको हुन्छ । बैंकले १ महिना, २ महिनादेखि १ वर्षसम्मका लागि बैंक ग्यारेन्टी जारी गर्ने गर्छ । विक्रेता कम्पनीले नियमित भुक्तानी प्राप्त भएको जानकारी दिएका बैंकले ग्यारेन्टी नवीकरणसमेत गर्ने गर्छ ।

बैंक ग्यारेन्टी दिइएको पक्षले रकम भुक्तानी गर्न माग गर्दा बैंकले उक्त रकम भुक्तानी गरेपछि त्यस्तो पैसालाई बैंक ग्यारेन्टी दिने पक्षको नाममा कर्जा देखाउने गर्छ । त्यसरी दिइने कर्जालाई फोर्स ऋण भनिने भएकाले कर्जाको ब्याजदर महँगो हुने गर्छ । नियमित साँवा ब्याजसमेत नतिरेका ऋणीलाई फोर्स लोन दिँदै बैंक ग्यारेन्टीको भुक्तानी गर्नुपरेको एक बैंकर बताउँछन् ।

बैंकले बैंक ग्यारेन्टी जारी गर्दा पर्याप्त धितो वा अन्य सम्पत्ति राखेको छ भने बैंक ग्यारेन्टीबापत भुक्तानी गरिएको रकम असुल गर्न सहज हुन्छ । तर, केही रकम कमिसन आम्दानीका लागि सहजै बैंक ग्यारेन्टी जारी गर्ने गरेका बैंकलाई भने बढ्दो बैंक ग्यारेन्टी दाबी भुक्तानीले समस्या पर्ने देखिन्छ ।

चालू आर्थिक वर्षको ८ महिनामा गत वर्षभन्दा २० प्रतिशतले आयात घट्दा आर्थिक कारोबार बढ्न सकेको छैन । यस्तै विगतमा उधारोमा किनेको सामान बिक्री गर्दा आएको पैसा घरजग्गा वा उपभोगमा खर्च भइसकेकाले पनि साना व्यापारीले पैसा चुक्ता गर्न सकेको छैनन् ।

बैंक ग्यारेन्टी नलिई कारोबार गरेका ठूला कम्पनी र राष्ट्रिय वितरकलाई पैसा असुल गर्न समस्या भइरहेको अवस्थामा बैंक ग्यारेन्टी लिएका कम्पनीले भने बैंकमार्फत उधारो असुल गरिरहेका छन् ।

‘चैतपछि बैंक ग्यारेन्टी भुक्तानीका लागि दाबी गर्ने क्रम अझै बढ्छ,’ एक व्यवसायीले भने, ‘चैतमा महासंघको निर्वाचन भएकाले पनि राष्ट्रिय वितरक र उत्पादनमूलक कम्पनी केही सुस्त देखिएका हुन् ।’


शरद ओझा