साउदीसँगको श्रम सम्झौता कार्य अगाडि बढ्यो, शून्य लागतमा लैजान छैन इच्छुक



काठमाडौं । खाडी मुलुकमध्ये प्रमुख गन्तव्य बनेको साउदी अरेबियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारसँगको श्रम सम्झौता कार्य अगाडि बढाएको जनाएको छ ।

श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले नेपालीहरुको प्रमुख गन्तव्य बनेको साउदी अरेबियासँगको श्रम सम्झौताको कार्य अगाडि बढेको बताए । उनकाअनुसार मन्त्रालयले विभिन्न चरणमा छलफल गरेर श्रम सम्झौताका लागि मस्यौदा तयार गरी साउदी अरेबियालाई पठाइसकेको छ ।

नेपालले विश्वका १११ वटा देशमा रोजगारीका लागि भिसा खुला गरेको छ । तर, नेपालीहरु विश्वका १७० वटाभन्दा बढी देशमा पुग्ने गरेको सरकारी तथ्याङ्कले नै देखाउँछ ।

नेपालले हालसम्म करिब एक दर्जन देशहरुसँगै मात्रै समझदारी पत्रमा हस्ताक्षर गरेको छ । तर, साउदी अरेबियामा वार्षिक लाखौं नेपाली रोजगारीको खोजीमा विदेशिए पनि श्रम सम्झौता भने हुन सकेको छैन ।

श्रम सम्झौता नहुँदा नेपाली श्रमिकहरुको सुरक्षा र न्यायोचित भर्नालगायत अन्य विभिन्न क्षेत्रमा विविध समस्या आउने गर्छन् । उक्त समस्या सम्बोधन गर्न पर्याप्त संयन्त्र नहुँदा श्रमिकहरुले धेरै प्रकारका समस्या भोग्दै आएका छन् । त्यसैले सरकारले श्रमिकको सुरक्षा र व्यवस्थापनका लागि श्रम सम्झौताको कार्य अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।

‘अहिले मस्यौदा तयार गरी साउदी अरेबियामा पठाइसकेको छ । उक्त सम्झौता कार्य अगाडि बढाउनका लागि कमिटी तयार गर्नेछौं । कमिटीको छलफलपछि श्रम सम्झौता हुनेछ,’ सचिव अर्यालले भने ।

श्रम सम्झौतामा नेपाल सरकारले शून्य लागतमा श्रमिक लैजान जोड दिएको सचिव अर्यालले बताए । तर, साउदी अरेबियाले भने शून्य लागतमा श्रमिक लैजान प्रतिबद्धता जनाउन नसकेको उनले बताए ।

‘शून्य लागतमा कामदार लैजान सरकार मात्रै इच्छुक भएर हुँदैन । रोजगारदाताले पनि सहमति जनाउनुपर्ने हुन्छ । सरकारभन्दा रोजगारदाताको भूमिका बढी हुने भएकाले शून्य लागतमा कतार लैजानमा केही वाधा देखिन्छ,’ उनले भने ।

मन्त्रालयका सहसचिव राजिव पोख्रेलले साउदी अरेबियासँगको श्रम सम्झौतामा कामदारको सुरक्षा र न्योयोचित भर्ना प्रक्रियामा जोड दिएको बताए । साथै, सरकारले पारिश्रमिक तथा सेवासुविधामा पनि जोड दिएको उनको भनाइ छ ।

श्रम सम्झौता नभए पनि नेपालबाट गत वर्ष ६ लाख ३० हजारको हाराहारीमा नेपाली विदेशिदा साउदी खरेबियामा मात्रै १ लाख ८८ हजार ६९२ जना पुगेका छन् । जसमा १ लाख ८७ हजार ९६६ जना पुरुष र ७२६ जना महिला छन् । वैदेशिक विभागको तथ्याङ्कअनुसार गत वर्ष मात्रै १ लाख २५ हजार ३६९ जना नयाँ श्रम स्वीकृति लिई साउदी पुगेका छन् भने ६३ हजार ३२३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, फागुनमा ६१ हजार ८४५ जना नेपाली रोजगारीको खोजीमा ९० वटा देशमा पुग्दा साउदीमा ९ हजार ५०३ जना पुगेका छन् ।

तथ्याङ्कमा विदेशिएका मध्ये ९ हजार ४३२ जना पुरुष र ७१ जना महिला छन् । फागुनमा ४ हजार ८०६ जनाले नयाँ श्रम स्वीकृति र ४ हजार ६९७ जनाले पुनः श्रम स्वीकृति लिई विदेशिएको विभागले जनाएको छ ।


अरिष्मा मोक्तान