नयाँ ब्रोकर, स्टक र कम्बोडिटीसँग सम्बन्धित मुद्दाको चाँडो निरुपण हुनुपर्छ: हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नयाँ ब्रोकर, स्टक र कम्बोडिटीसँग सम्बन्धित मुद्दाको चाँडो निरुपण हुनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘समृद्ध नेपालको आधार, पुँजीबजार सुधार’ नामक लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष हमालले सात महिनादेखि मुद्दा विचाराधीन हुँदा समस्या भएको बताए । उनले आफूहरुलाई निर्णय चाँडो चाहिएको भन्दै आफ्नो पक्षमै निर्णय हुनुपर्छ भनेर आफूहरुले नभएको तर्क गरे ।
‘हामीलाई निर्णय चाहिएको हो । निर्णयको बन्दी बन्नु भएन । हाम्रो पक्षमा निर्णय होस् भनेको होइन’हमालले भने, ‘६/७ महिना भइसक्यो ११ अर्ब रुपैयाँ ठूला कम्पनीरुको त्यहाँ फसेको लगानीको हरेक दिनको मूल्य हुन्छ । लगानीकर्तालाई भार हुन्छ त्यो भार कसले ब्यहोर्ने ? सात महिना सानो समय होइन ।’
हमालले अहिलेको नियमावलीले नभए नयाँ नियमावली ल्याउने बताए ।
धितोपत्र बोर्डले गत असोजमा स्टक एक्सचेन्ज, कमोडिटी र ब्रोकर लाइसेन्स वितरणका लागि सूचना प्रकाशन गरेको थियो । तर म्याद सकिन एक दिन बाँकी रहँदा अदालतको आदेश बमोजिम बोर्डले प्रकृया स्थगन गरेको थियो । जुन मुद्दा विचाराधीन छ । मंगलबारका लागि सर्वोच्चमा पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।
अध्यक्ष हमालले भित्री कारोबार (इन्साइडर ट्रेडिङ)मा संलग्न एक जनाविरुद्ध मुद्दा दायर गरेको र यसमा संलग्न अन्य व्यक्ति र कम्पनीमाथि पनि मुद्दा दर्ताको तयारी भइरहेको बताए । त्यसबारे थप अध्ययन अनुसान्धान भइरहेको हमालको भनाइ छ । उनले पुँजी बजारको ३० वर्षे इतिहासमा भित्रि कारोबारमा संलग्न माथि मुद्दा चलाइएको पहिलो घटना भएको बताए ।