नेपालमा १०० वटा ब्रोकर चाहिन्छ: हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बजारलाई दिगो र स्थायी बनाउन जग बलियो बनाउने काममा लागेको बताएका छन् ।
अध्यक्ष हुने बेलामा नै सरकार समक्ष पेस गरेको भिजन पेपरमा लगानीकर्ताका अपेक्षा समेटेको उनले बताए । तर नेपालमा काम गर्न निकै गाह्रो रहेको उनको भनाइ छ ।
बुधबार काठमाडौंमा आयोजित लगानिकर्ता अन्तक्रिर्या कार्यक्रममा हमालले बजार विकास गर्न बनेका नीति राम्रो भए पनि विकास हुन नसक्नुमा समस्या हाम्रै रहेको उनको भनाइ छ । बजार सुधारका लागि ल्याउने हरेक काम मेरिट बेसिस भएको उनले बताए । बोर्डले गर्ने हरेक काम समय तालिका अनुसार रहेको उनको भनाइ छ ।
बजारमा सधैं सिन्डिकेट भएको भन्दै उनले बजारलाई खुला छोड्न नयाँ ब्रोकर आवश्यक रहेको बताए । हरेक नीति सबैको हितमा नहुने र कसैलाई मन पर्ने कसैलाई नपर्ने खालको हुने बताए । नीति कार्यान्वयन गर्न न्यायालय, राज्य, सरकार सबै सकारात्मक हुनुपर्ने र त्यसो भए सिन्डिकेट तोडिने उनको भनाइ छ ।
हमालले मापदण्ड पुगेका सबै कम्पनीले तोकिएको समयमा लाइसेन्स गरि पाउने गरि काम गरेको उनको दाबी छ । ‘हामीले गरेको पहिलो प्रयासले यस्तै भयो। अझै पनि हामी लागि रहेका छौं’ उनले भने ।
हमालले बजारलाई प्रतिस्पर्धा गराउन नयाँ स्टक आवश्यक रहेको तर्क गरे । उनले प्रतिस्पर्धाका लागि मैदान तयार गर्ने काम भइरहेको बताए । पहिला ब्रोकर शाखा बिस्तार गर्न १९ महिना लाग्ने गरेको स्मरण गर्दै हमालले अहिले फटाफट काम भएको दाबी गरे । हमालले नेपालमा १०० ब्रोकर चाहिने बताए ।
नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले अध्यक्ष हमाललाई राम्रो कामका लागि साथ र सहयोग गर्ने बताए । उनले लगानीकर्ताको सम्पत्ति ५० प्रतिशत डुबेको दाबी गरे ।
उनले ब्रोकर कमिशन ०.२५% कायम गर्न आग्रह गरे । यसले बजार बढाउने उनको भनाइ थियो ।