ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए ।

‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन् । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघी ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ’ मल्लले भने ।

उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानकर्षण गराए । ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने उनले बताए ।

चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताइन् ।

संसदमा आफुहरुले यो विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ । अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरु पुरानो भएकाले पनि परिणाममुखि काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ ।


क्लिकमान्डु