१४ वटामा सीमित हुँदैछन् जीवन बीमा कम्पनी, कुनको कति पुग्छ पुँजी?



काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत महिनामा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरुलाई ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने बाटो प्राधिकरणले खोलिदिएको थियो ।

प्राधिकरणले पुँजी बढाउनुपर्ने बाध्यात्मक नीति लिएपछि पुँजी थप गर्न नसक्ने बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका थिए । एकातिर तोकेअनुसार न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता र अर्कोतिर असारभित्रै मर्जर सहमति गरे कर छुट पाइने व्यवस्थाले कम्पनीहरूमा मर्जरको दौडधुप चलेको थियो ।

हालसम्म २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय लिएका छन् ।

जीवन बीमा कम्पनीतर्फ ९ कम्पनी चार वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन् । यस्तै, १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन्  ।

मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये ८ निर्जीवन बीमा कम्पनी चारवटामा कायम भएर एकीकृत कारोबार थालनी गरेका छन् । अन्य चार कम्पनी मर्जर प्रक्रियामा छन् ।

हालसम्म निर्जीवनतर्फ ४ र जीवनतर्फ २ वटा मर्जर सफल भइसकेको छ ।

जीवन बीमा कम्पनीको संख्या १४ वटा पुग्ने, कुनको कति पुग्छ पुँजी ?

प्राधिकरणले पुँजी वृद्धिको नीति लिनुभन्दा अघि बीमा बजारमा १९ वटा कम्पनीहरुले जीवन बीमासम्बन्धी व्यवसाय गर्दै आएका थिए । हाल उक्त संख्या १७ वटामा कायम भएको छ । प्रक्रियामा रहेका सबैको मर्जर सफल भएमा जीवन बीमा कम्पनीको संख्या १४ वटामा सीमित हुनेछ ।

मर्जर प्रक्रियामा रहेका ९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटाले २ वटामा कायम भई एकीकृत कारोबार थालनी गरिसकेका छन् । सूर्या लाइफ र ज्योति लाइफले ‘सूर्यज्योति लाइफ’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन्  ।

यस्तै, रिलायन्स लाइफ र सानिमा लाइफले ‘सानिमा रिलायन्स लाइफ’को नाममा एकीकृत कारोबार शुरु गरिसकेका छन् । अन्य कम्पनीको मर्जर भने प्रक्रियामै छ  । प्राइम, यूनियन र गुराँस, प्रभु लाइफ र महालक्ष्मी लाइफ भने मर्जर प्रक्रियामै छन् ।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफको पुँजी प्राधिकरणले तोके बमोजिम पुगिसकेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब माथि छ । जुन नियामकले तोके भन्दा बढी हो । मर्जरपश्चात कायम हुने १४ कम्पनीहरुमध्ये नेपाल लाइफ चुक्ता पुँजी, जगेडा कोष, बीमा कोष लगायतका सूचकहरुमा बलियो नै रहेने देखिएको छ ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । मर्जरमा जान लागेका प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । यी कम्पनीहरु एक बराबर एक अनुपातमा मर्जर हुन लागेका हुन् ।

अन्तिम सम्झौताअनुसार मर्जपछि बन्ने नयाँ कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स’ कम्पनी हुनेछ  । एकीकृत कारोबारपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ७ अर्ब ५३ करोड नाघ्नेछ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र सिइओमा हालका युनियनका सीइओ मनोजलाल कर्ण हुनेछन् ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले एक बराबर एकको अनुपातमा गाभिने भएका हुन् । मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

मर्जर प्रक्रियामा गएका यूनियन, प्राइम र गुराँस लाइफले एकीकृत करोकारको मिति तय गरेका छैनन् । यस्तै, महालक्ष्मी र प्रभुको पनि एकीकृत कारोबारको मिति निश्चित भएको छैन ।

मर्जर पश्चात सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यस्तै, मर्जरपछि एकीकृत कारोबार थालनी गरेको सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ ।

नेशनलको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । भने एलआइसीले हकप्रद सेयरमार्फत पुँजी बढाउने प्रक्रिया अघि बढाएको छ । हाल एलआइसीको पुँजी २ अर्ब ६५ करोड माथि छ । यस्तै, एशियनको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रुपैयाँ छ ।

यस्तै, सिटिजन लाइफको चुक्ता पुँजी २ अर्ब ६२ करोड, सन नेपाल लाइफको २ अर्ब २४ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८० करोड र आईएमई लाइफको २ अर्ब ८० करोड रुपैयाँ छ ।

यी कम्पनीहरुले सर्वसाधरणका लागि साधारण सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।कम्पनीहरुले आईपीओमार्फत नियामकले तोके बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने प्रक्रिया अघि बढाएका हुन् ।

प्राधिकरणको निर्देशनअनुसार कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरिसक्नुपर्ने छ ।


क्लिकमान्डु