पर्यटन विश्वविद्यालय स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एकेडमी अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट(नाथम) लाई पर्यटन विश्वविद्यालयमा स्तरोन्नति गर्ने घोषणा गरेका छन् ।

सोमबार नाथमको ५० औं स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ५० वर्षदेखि पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको नाथमलाई विश्वविद्यालयमा स्तरोन्नति गरिने बताए ।

नाथमलाई पर्यटन विश्वविद्यालय बनाउने विषयमा सैद्धान्तिक स्वीकृत यसअघि पनि दिइएको थियो दाहालले भने, ‘मेरो यही कार्यकाल भित्रै संसदबाट ऎन पारित गर्दै संस्थालाई बलियो बनाइनेछ । म यहीँ मन्चबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नाथमको ऎन बनाउने गरि काम गर्न निर्देशन दिन चाहन्छु ।´

दाहालले नाथमलाई विश्वविद्यालय अनुदान आयोग र अन्तर्राष्ट्रिय संस्थाबाट पनि गुणस्तरीय शैक्षिक संस्थाको रूपमा प्रमाणीकरण गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले नाथममा विदेशी विद्यार्थी ल्याएर पढ्ने वातावरण बनाउन आग्रह गरे।

पहिलो चरणमा दक्षिण एसिया र त्यसपछि विमिस्टेक राष्ट्रका विद्यार्थी ल्याउने कार्य योजना बनाउन तपाईंहरूलाई आग्रह छ' दाहालले भने,‘पर्यटन हाम्रो अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्ने क्षेत्र हो। तपाईंहरू शिक्षाका माध्यमबाट नेपाल चिनाउन काम गर्नु पर्छ।´

नाथमले संचालन गरेको इन्कुबेसन सेन्टरलाई प्रभावकारी बनाउँदै स्वरोजगार सिर्जना गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिए।


क्लिकमान्डु