कुल परिवार संख्याको ९.४ प्रतिशतसँग साना तथा घरेलु व्यवसाय



काठमाडौं । देशभरको कुल परिवार संख्यामध्ये ९.४ प्रतिशतले साना घरेलु व्यवसाय सञ्चालन गर्ने गरेका छन् ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ काअनुसार देशभरमा रहेका कुल परिवारमध्येबाट ९.४ प्रतिशतले घरेलु व्यवसाय सञ्चालन गर्ने गरेका छन् ।

हाल नेपालमा कुल परिवार संख्या ६६ लाख ६० हजार ८४१ रहेको छ । यसमध्ये ६ लाख २७ हजार ८८७ परिवारले साना घरेलु व्यवसाय सञ्चालन गर्ने गरेका छन् । बाँकी रहेकामध्येबाट ९०.२ प्रतिशत परिवारसँग कुनै साना घरेलु व्यवसाय रहेको छैन भने बाँकी ०.३ प्रतिशतको उल्लेख नभएको तथ्यांकमा जनाइएको छ ।

साना घरेलु व्यवसाय सञ्चालन गर्ने परिवारहरुमध्ये कोशी प्रदेशमा १ लाख १६ हजार ४७९ परिवार रहेका छन् । त्यस्तै, १ लाख १९ हजार ९२० परिवार मधेश प्रदेशमा, १ लाख ५३ हजार ५२२ परिवार बागमती प्रदेशमा, ५९ हजार ३७१ परिवार गण्डकी प्रदेशमा, ९५ हजार ६१६ परिवार लुम्बिनी प्रदेशमा, ३२ हजार ४६३ परिवार कर्णाली प्रदेशमा र ५० हजार ५१६ परिवार सुदुरपश्चिममा साना घरेलु व्यवसाय सञ्चालन गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु