व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन: उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् ।

बिहिबार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न नसके, पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।

अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

हामीले यदी सुशासन कायम गर्न सकेनौँ, पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न सकेनौँ र व्यापार घाटा कम गर्न सकेनौँ भने समृद्धिको जतिसुकै नारा लगाएपनि हाम्रो अर्थतन्त्र चलायमान हुन सक्दैन । यसको गति अघि बढ्न सक्दैन । यसले देशको समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन,’ मन्त्री श्रेष्ठले भने, ‘ यसमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यक्ता छ । स्वभाविक रुपमा यसको लागि नेतृत्वदायी पहल राज्यले लिनेछ ।’

नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

‘व्यापार घाटा सम्बन्धमा स्वभाविक रुपमा तीन वटा कुरा हामीले गर्नैपर्छ । उत्पादनको वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने र त्यसद्वारा आयात नियन्त्रण गर्ने, कृत्रिम आयात नियन्त्रण होइन, आयात प्रतिष्थापन गर्ने प्रक्रियाद्वारा आयात नियन्त्रण गर्ने र निर्यात प्रवद्र्धन गरेर मात्रै हामीले व्यापार घाटा कम गर्नसक्छौँ’ उनले भने ।

ऋणको ब्याजदर अहिले धेरै नै बढेको भए पनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको उनले बताए ।

मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कुटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने बताए ।


क्लिकमान्डु