तल्लो ईन्द्रावती जलविद्युत आयोजना बन्दै
काठमाडौं । ईन्द्रावती तेस्रो जलविद्युत आयोजनाको कासकेड प्रोजेक्टका रुपमा सिन्धुपाल्चोकमा तल्लो ईन्द्रावती जलविद्युत आयोजना बन्ने भएको छ । विद्युत विकास विभागले सूचना जारी गर्दै उक्त जलविद्युत आयोजना निर्माण हुने जानकारी दिएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेको ईन्द्रावती तेस्रो जलविद्युत आयोजनाको टेलरेसको पानीलाई उपयोग गर्दै तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको निर्माण गर्न लागिएको हो । नेसनल हाइड्रोपावर कम्पनीले निर्माण गर्ने यो आयोजनाको क्षमता ४.५ मेगावाट हुने छ ।
आयोजना निर्माणका क्रममा मुख्य संरचनाहरु ईन्द्रावती खोलाको दायाँ किनारमा निर्माण गरिने छ । आयोजनाका लागि आवश्यक पानी ईन्द्रावती तेस्रो जलविद्युत आयोजना टेलरेसबाट ६ मिटर चौडाई र १.८५५ मीटर उचाई भएको ‘ईन्टेक ओपनिङ’बाट फर्काईनेछ ।
४.५ मेगावाट जडित क्षमता हुने आयोजनाको वर्षिक सरदर २९.९८ गिगावाट घण्टा विद्युत हुनेछ । ईन्द्रावती तेस्रोको कासकेड प्रोजेक्ट भएकाले तल्लो ईन्द्रावती जलविद्युत आयोजनामा प्रतिघण्टा ०.५ घनमिटर प्रतिसेकेण्डको दरले ‘डाउन स्ट्रिम’ हुनेछ ।
आयोजना २०८१ भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको सूचनामा उल्लेख गरिएको छ ।