आयोजना प्रभावितले किनेनन् मोदी इनर्जीको आईपीओ, समय थप
काठमाडौं । मोदी इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आयोजना प्रभावित स्थानीयले माग अनुसार आवेदन नदिएपछि आवेदन दिन समय थपिएको हो ।
कम्पनीले फागुन २५ गतेदेखि चैत ९ गतेसम्म आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गरेको थियो । उक्त अवधिमा आयोजना प्रभावितले माग अनुसार आवेदन नदिएपछि चैत १६ गतेसम्मका लागि आवेदन दिन समय थपिएको हो ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समय भित्र मात्रै आवेदन दिन पाइने छ । वैदेशिक रोजगारीका रहेका नेपालीका लागि ४ लाख ३५ हजार कित्ता सेयर निष्कासन गरेकोछ ।
उनीहरुले मेरो सेयर र सी–आश्वा सदस्य रहेका र्बंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई निष्कासन गरेको थियो । जसमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–३, मोदी गाउँपालिका–५, २, ६ र कुश्मा नगरपालिका–८ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
आवेदन बिक्री प्रबन्धक सनराइज क्यापिटल, सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एशिया र कुमारी बैंकको स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।