१६७ वर्षे इतिहास बोकेको क्रेडिट स्वीस बैंकको दुखद् अन्त्य, प्रतिस्पर्धी युबीएसले ३२५ करोड डलरमा किन्ने



एजेन्सी । १६७ वर्ष लामो इतिहास बोकेको क्रेडिट स्वीस बैंकलाई उसैको प्रतिस्पर्धी बैंक युबिएसले किन्ने सम्झौता भएको छ । आर्थिक संकटमा डुबेको क्रेडिट स्वीस बैंकलाई युबिएसले ३ अर्ब २५ करोड अमेरिकी डलर (४ खर्ब नेपाली रुपैयाँभन्दा बढी)मा किन्ने सम्झौता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्वीट्जरल्याण्डकै सबैभन्दा ठूलो बैंक युबिएसले आपतकालिन अवस्था आएको भन्दै क्रेडिस स्वीसलाई किन्ने घोषणा गरेको हो । स्वीस नेसनल बैंकले आइतबार जारी गरेको एक विज्ञप्तीकाअनुसार युबिएसले आइतबार नै क्रेडिट स्वीस बैंकलाई खरिद गर्न स्वीकार गरेको थियो ।

यो रकम गत शुक्रबार पुँजीबजारमा रहेको क्रेडिट स्वीस बैंकको सेयर मूल्यको तुलनामा ६० प्रतिशत रकम हो । सिएनएनकाअनुसार स्वीस सरकारले युबिएसले क्रेडिट स्वीसलाई खरिद गर्दा बैंकका सेयर धनिहरुको स्वीकृति नचाहिने गरी यो सम्झौता हुने वातावरण बनाएको छ ।

१६७ वर्ष पुरानो इतिहास बोकेको क्रेडिट बैंक पछिल्लो समय गम्भिर आर्थिक संकटमा परेको थियो । गत साता मात्रै बैंकको सेयर मूल्यमा २५ प्रतिशतले गिरावट आएको थियो ।

फाइनान्सियल टाइम्सकाअनुसार बैंकका खाताबहाकले एकै दिनमा १० अर्ब अमेरिकी डलरसम्म रकम भुक्तानी लिन खोजेका थिए । आपतकालिनरुपमा स्वीस नेसनल बैंकले क्रेडिट स्वीस बैंकलाई उपलब्ध गराएको ५४ अर्ब अमेरिकी डलर बराबरको ऋणले तत्कालको समस्या समाधान गरेको थियो ।

युबिएसका चेयरमेन कोल्म केल्लेहेरले क्रेडिट स्वीसको स्वामित्व लिनेबारे बोल्दै भनेका छन्, ‘यो प्राप्ती युबिएसका सेयरधनिहरुको लागि आकर्षक त छ । तर, हामी स्पष्ट हुनुपर्ने कुरा यो फाइदा वा नोक्सानभन्दा पनि आपतकालिन रेस्क्यु हो । अहिलेको अवस्थामा स्वीट्जरल्याण्ड र विश्वकै वित्तीय क्षेत्र सचेत हुनुपर्ने अवस्था आएको छ ।’

१६७ वर्ष पहिले क्रेडिट स्वीस बैंक सन् १८५६ मा खुलेको थियो । पछिल्ला वर्षहरुमा यो बैंकले कैयौं विवादहरुको सामना गर्नु परेको छ । जसमध्ये केही सम्पत्ति शुद्धीकरणका विषयहरु पनि रहेका छन् ।

क्रेडिट स्वीस बैंकले सन् २०२१ मा घाटा बेहोर्नु परेको थियो । त्यसपछि सन् २०२२ मा पनि बैंकलाई ७ अर्ब ९ करोड डलरको नोक्सान भएको थियो । सन् २००८ पछि सन् २०२२ नै क्रेडिट स्वीस बैंकको लागि सबैभन्दा खराब समय थियो । बैंकले २०२४ भन्दा अघि आफू फाइदामा जान नसक्ने बताएको थियो ।

कोरोना महामारीको साइडइफेक्टका रुपमा पछिल्लो समय विश्वव्यापीरुपमा चरम आर्थिक मन्दी आएको छ । गत सातामात्रै अमेरिकामा दुई वटा बैंक डुबेका थिए । अमेरिका र युरोपमा बैंक डुबिरहँदा नेपालको बैंकिङ क्षेत्र पनि निकै डराएको छ ।


क्लिकमान्डु