बैंक वित्तीय संस्थामाथिका अराजक गतिविधि नरोके सेवा बन्द गर्ने चेतावनी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई लक्षित गरी सांघातिक आक्रमण हुने क्रम बढेपछि वित्तीय संस्थाका चारवटै संगठन प्रतिवादका लागि एकजुट भएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उक्साहटमा बैंक तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र सांघातिक आक्रमण बढेपछि नेपाल बैंकर संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक भएर प्रतिवाद गरेका हुन् ।

वित्तीय संस्थाका कर्मचारीप्रति लक्षित गरी भइरहेका घटनाको चारै संस्थाले संयुक्त विज्ञप्ति निकालेर निन्दा गरेका छन् । उनीहरुले अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन माग गरेका छन् । कर्मचारीमाथि आक्रमणका घटना नरोकिए कर्मचारीको सुरक्षाका निमित्त बैंकिङ सेवा नै बन्द गर्नेसम्मको चेतावनी उनीहरुले दिएका छन् ।

व्यवसायी प्रसाईंको उक्साहटमा केही दिनयता जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायतका जिल्लामा बैंकका कमर्चारीमाथि धरपकड गर्ने, सांघातिक हमला गर्ने, कालोमोसो दल्ने तथा कार्यालयमा तालाबन्दी गर्ने काम भइरहेको छ । यस्ता गतिविधप्रति घोर आपत्ति जनाउँदै जारी गरिएको विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको उनीहरुले बताएका छन् । ‘यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबर्जस्ती कानुन हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायसँग अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यसप्रकारका क्रियाकलापले असहज वातावरण सिर्जना गर्ने, सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने, आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने र अर्थतन्त्र नै धराशयी हुनसक्ने भएकाले सजग रहन सबैमा अपिल गरिएको छ ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग चारै संगठनले माग गरेका छन् ।


क्लिकमान्डु