बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने एनआईएस हस्तान्तरण




काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउन कार्यान्वयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली (एनआईएस) बैंकलाई हस्तान्तरण गरेको छ ।

काठमाडौंमा आयोजित एक समारोहका बीच बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पीप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरिन् ।
बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम (एफएसएसपी) को वित्तीय सहयोगमा एसआईएस निर्माण गरिएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए ।

वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्याङ्क आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको निम्ति बेलायत सरकार सधैँ प्रतिबद्ध रहेको धारणा राखिन् ।

कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका निर्देशक शुभाषचन्द्र घिमिरेले एसआईएसको परिचय, विशेषता र यसको कार्यान्वयनका विविध पक्षबारे जानकारी दिए । उप–निर्देशक डिल्लीराम पोख्रेलले एसआईएसको डेमो प्रदर्शन गरे ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एसआईएसको कार्यान्वयन नेपालको वित्तीय प्रणालीको निम्ति ‘कोसे ढुङ्गा’ सावित भएको उल्लेख गरे । यसको कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यो ‘सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस)’ अनलाइन प्रविधिमा आधारित रिपोर्टिङ सिस्टम हो । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा नियमित रूपमा रिपोर्टिङ गर्नुपर्ने तथ्याङ्क र सूचना यसै प्रणालीमार्फत पेश गर्दछन् ।

स्वाचालित प्रणालीबाटै ती तथ्याङ्कको प्रशोधन गरिन्छ । एसआईएसको कार्यान्वयनबाट सुपरिवेक्षकीय प्रणाली आधुनिक, स्वचालित र थप प्रभावकारी बन्न पुगेको सरोकारवालाहरूको विश्वास छ ।


क्लिकमान्डु