एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण, दोषीमाथि कारबाही गर्न सिबिफिनको माग



काठमाडौं । म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको कर्मचारीमाथि आक्रमण भएको छ । जिल्लामा रहेको बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको हो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्य दिनानुदिन बढिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको शृंखला आज ज्यान लिने गरी घटाइएको सिबिफिनले जनाएको छ ।

सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको घोर भर्त्सना गर्दै सिबिफिनले निहीत स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका बर्बर र आततायी घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाध सञ्चालन हुने वातावरण सिर्जना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गरिएको छ ।


क्लिकमान्डु