सरकारले निर्माण व्यवसायीलाई ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी



काठमाडौं । निर्माण व्यवसायीहरुले ६० अर्ब रुपैयाँ रकम सरकारले भुक्तानी गर्न बाँकी रहेको जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट निर्माण व्यवसायीले अझै ६० अर्ब रकम भुक्तानी नपाएको बताए ।

उनकाअनुसार सरकारले समयमै रकम भुक्तानी नगर्दा उनीहरुले आर्थिक संकट भोगिरहेका छन् ।

‘निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न हुँदासमेत लामो समयदेखि राज्यबाट भुक्तानी नपाएकाले अधिकांश व्यवसायीहरु मारमा छन्,’ उनले भने, ‘यदि सरकारले भुक्तानी गर्न नसकेको निकायहरुलाई कानुन बमोजिम सेवा सुविधाको आधारमा ठेक्कको अन्त्य गर्नुपर्छ ।’

त्यसैगरी, व्यवसायीहरुलाई भुक्तानी गर्न नसक्ने भएमा स्वेतपत्र जारी गरी सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । सरकारले समयमा भुक्तानी दिन नसक्दा तोकिएको समयमा कार्य अगाडि बढाउन नसकेको जिकिर गरे । मूल्य वृद्धिले कार्य अगाडि नबढेको बेला व्यवसायीहरुले समयमै भुक्तानी गर्न नसक्दा व्यवासायीहरु समस्यामा रहेको बताए ।

सरकारले हरेक विभिन्न आयोजनाको घोषणा गर्ने तर समयमा भने भुक्तानी नगर्ने प्रवृत्तिले गर्दा अधिकांश आयोजना अलपत्र परेको उनले दाबी गरे ।

‘स्थानीय तहहरुमा सांसदहरुको दबाबमा हरेक क्षेत्रमा आयोजना घोषणा हुन्छ । तर, बन्दैनन् । त्यसैले, सांसदहरुको दबाबमा आयोजना प्रस्ताव गर्ने कार्यलाई रोक्नुपर्छ,’ उनले भने ।

सरकारले भविष्यमा बनाउन नसकिने आयोजनाहरु निर्माणका लागि प्रस्ताव गरी कार्य अगाडि बढाएको छ । तर, बजेट विनियोजनको अवस्था हेर्दा निर्कै कमजोर छ । अबका दिनमा बजेटको सुनिश्चित गर्न सक्ने आयोजना मात्रै अगाडि बढाउन र समयमै सकाउने कार्यमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‌‌


क्लिकमान्डु