वैदेशिक रोजगारीमा दुई वर्षे श्रम स्वीकृति हट्यो, कूटनीतिक नियोगबाटै लिन सकिने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने क्रममा दुई वर्षको श्रम स्वीकृति लिने प्रावधान घटाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चैत १ गतेदेखि वैदेशिक रोजगारीमा जाने क्रममा दुई वर्षको श्रम स्वीकृति लिने प्रावधान हटाएको जनाएको हो ।

वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति/सम्झौताको अवधिलाई आधारमान्दै सबैलाई २ वर्षको श्रम स्वीकृति दिँदै आएको थियो ।

उक्त व्यवस्थालाई मन्त्रालयले मूल्याङ्कन गर्दा श्रमिक कामदारको कार्य अवधि र भिसा अवधि छदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनु पर्ने बाध्यता थियो ।

प्रधानमन्त्रीस्तरबाट अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सरकारले कूटनीतिक नियोगबाटनै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरेको छ । सरकारले पुनः श्रम स्वीकृति वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १७ (ग) मा भएको पुनः श्रम स्वीकृतिको व्यवस्था हाल प्रभावकारी रुपमा कार्यान्वयनमा नआएको कारण विदेशमा कार्यरत नेपाली श्रमिकले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन पनि नेपाल आउनुपर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्दार लगायतका सुविधा कानुन बमोजिम उपलब्ध गराउन नसकिएको पक्षलाई ख्याल गरी गन्तव्य मुलुकहरुमा रहेका नेपाली कुटनीतिक नियोगबाटनै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरेको हो ।


क्लिकमान्डु