खुदी खोलामा दुई झोलुंगे पुल निर्माण गरिने



कास्की । पोखरा महानगरपालिका-३२ स्थित खुदी खोलमा दुई झोलुंगे पुल निर्माण गरिने भएको छ ।

पुरानो गाउँको चौताराको पूर्वीकिनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वीकिनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुंगे पुल निर्माण गर्न लागिएको हो ।

खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था छ । पुल निर्माण सुरु भएपछि स्थानीयमा समृद्धि र विकासको आशा जागेको छ ।

पुल नहुँदा गगनगौडा क्षेत्रबाट आफ्नै वडा नम्बर ३२ को कार्यालयसम्म पुग्न सर्वसाधारणलाई समस्या भइरहेको थियो । पुल बनेपछि धेरै सहज हुने र कृषि उत्पादनले बजार पनि पाउने नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताए । कृषिजन्य उत्पादनका लागि तल्लो गगनगौडा, राजाचौतारा, मालमुल, देउरालीलगायत स्थान अब्बल मान्निछन् ।

बाह्रसय चौतारातर्फ पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि शैक्षिक कार्यक्रम सुरु गर्न लागेका अवस्थामा गगनगौँडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पुल अपरिहार्य भएको घिमिरेको भनाइ छ ।

तल्लो गगनगौँडा हुँदै पोखरा-काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि पुल आवश्यक भएको समाजसेवी खेमराज अधिकारीको भनाइ छ । यस क्षेत्रमा तनहुँको साविक थप्रेक गाविसलगायत विभिन्न स्थानबाट बसाइँ सरेर आउनेको संख्या अधिक छ ।

पुरानो गाउँको चौतरादेखि युनिभर्स चोक जोड्ने पुलले पृथ्वी राजमार्गसँग रुपा तथा लमजुङवासीलाई सजिलो हुनेछ । तल्लो गगनगौँडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमूल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सीधा र सहज सम्पर्कका लागि पनि पुल आवश्यक भएको स्थानीयले बताएका छन् ।


क्लिकमान्डु