भन्सार विभागले उठायो लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व, गत वर्षभन्दा २५ प्रतिशत कम



काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा आयात १८ प्रतिशतले घट्दा राजस्व संकलन २५ प्रतिशतले घटेको छ ।

भन्सार विभागले फागुन मसान्तसम्म ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ५७.९ प्रतिशतमा हो ।

गत वर्ष फागुन मसान्तसम्म विभागले ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागले यो वर्षको ८ महिनामा गत वर्षभन्दा २५ प्रतिशत कम राजस्व संकलन गरेको हो ।

गत वर्ष ८ महिनामा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएकोमा चालू आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । जुन गत वर्षभन्दा १९ प्रतिशत कम हो ।

आयातभन्दा राजस्व संकलन घट्नेदर बढी हुनु चिन्ताको विषय भएको भन्सार विभागका अधिकारीहरु बताउँछन् । भन्सार विभागका निर्देशक रामप्रसाद मैनाली बढी राजस्व संकलन हुने सवारी साधन, मदिरा लगायतका बस्तुको आयात प्रतिबन्ध लागेकाले आयातको परिणामभन्दा राजस्व संकलन बढीले घटेको बताउँछन् ।

विभागले फागुन महिनामा मात्रै ५९ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ८१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ५४ प्रतिशत मात्रै हो ।

फागुनमा सार्वजनिक बिदा धेरै भएकाले लक्ष्यभन्दा कम राजस्व संकलन भएको भन्सार विभागका निर्देशक मैनालीको भनाइ छ।

‘पुसमा आयात प्रतिबन्ध खुला भएको र माघदेखि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन हटाएको प्रभाव चैतदेखि देखिन्छ र आयात बढ्छ भन्ने विश्वास छ,’ भन्सार विभागका निर्देशक मैनालीले भने,‘त्यसपछि गत वर्ष बराबर राजस्व संकलन हुन सक्छ ।’

गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

विभागलाई गत वर्ष भन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएको हो ।

यो वर्ष गत वर्ष बराबर अर्थात् १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको आयात नहुने भएकाले गत वर्ष बराबर राजस्व संकलन नहुने भन्सार विभागका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु