गगन थापाको टिप्पणीः काँग्रेस भित्रैबाट विपीमाथि अन्याय भइरहेछ



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरेका छन् ।

आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै काँग्रेसले अन्याय गरेको उनको तर्क थियो । नेपाल ट्रेड युनियन काँग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे ।

उनले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरुलाई सचेत गराए । महामन्त्री थापाले भने, ‘रोजगारी सृजना हुन्छ । तर नेपालीले पाउँदैनन् त्यसमा काम । आज के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतबस नेपालीलाई कामै दिन्न भनेको त होइन होला । तर के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेको छैन ? आजको च्यालेन्ज यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो विपी कोइरालाले यसको बारेमा केही केही बोलिदिनु भएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त विपीमाथि अन्याय गर्नु हो नि त । के त्यो भन्नु भएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि । हाम्रो भागमा पढिदिनुपर्ने पनि उहाँले । हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने । यो अहिलेको चुनौति हो । यसको समाधान हामीहरुले नै खोज्नु पर्दछ ।’

महामन्त्री थापाले विपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताए । उनले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो । उनले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने बताए ।


क्लिकमान्डु