सवा ३ करोड बढी ठगिएको उजुरीसहित ‍स्वर्णिम सहकारीका पीडित प्रहरीकहाँ



काठमाडौं । काभ्रेको बनेपामा रहेको स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ३२ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् ।

पीडितहरुले संस्थाका अध्यक्ष लगायत सञ्चालकले आफ्नो बचत रकम ठगेकाले उक्त रकम फिर्ता पाँउ भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् । पीडितहरु प्रहरी कार्यालयमा उजुरी दिएर जिल्ला प्रशासन कार्यालयमा समेत पुगेका छन् ।

सहकारीबाट ठगिएका पीडितहरुले बनेपा नगरपालिका–१० मा रहेको स्वर्णिम बचत तथा ऋण सहकारीका अध्यक्ष रमेश राउत क्षेत्री लगायत सम्पूर्ण सञ्चालक समितिले विगत केही वर्षदेखि स्थानीय तथा बाहिरी व्यक्तिहरुलाई विभिन्न प्रलोभन देखाई करिब ७ करोड सहकारी संस्थाको नाममा संकलन गरी व्यक्तिगत अपचलन गरी फरार रहेको भन्दै यथाशिघ्र पक्राउ गर्दै छानविन गरी पीडितहरुलाई राहत दिन अनुरोध गरेका छन् ।

पीडितले आइतबार स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाका फरार सञ्चालक तथा अध्यक्ष रमेश राउत क्षेत्रीलाई समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

सहकारीका १०/१२ जना सदस्यले भक्तपुर–३ ताथलीका क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बनेपामा बुझाएका थिए । पीडितहरुले राउतलाई प्रहरी कार्यालयमा बुझाएपछि प्रहरीले आपसी समझदारीमा आउन आग्रह गरेको थियो ।

दुवै पक्षको समझदारी नभएपछि पीडितले ३ करोड ३२ लाख रुपैयाँ माग दाबी गर्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।


क्लिकमान्डु