निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री श्रेष्ठ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए । मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्ने तर्फपनि सचेत गराए । उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफु जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्युनिकरण गर्नु सरकारको कार्यभार रहेको बताए । उनले निर्माण व्यवसायीहरुलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको बताए । उनले व्यवसायीहरुसँग मन्त्रालयमा सामुहिक रुपमा मात्रै भेट्ने गरेको स्पष्ट पारे ।

मन्त्री र निर्माण व्यवसायीहरु मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्नु नहुने उनले बताए । मन्त्री श्रेष्ठले आफुले कुनैपनि निर्माण व्यवसायी तथा पुँजीपतिहरुसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्च समेत नलिएको बताए ।

मन्त्री श्रेष्ठको भनाइ जस्ताको त्यस्तै

दश वर्षअघि बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? राजधानिकै अगाडी यही टेकुमा एउटा पुल छ, जो क्राइटीस्मा मेल खाँदैनन् त्यसलाई बुझाउन खोज्नु मिल्छ ? सरकारले लिन मिल्छ ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ । त्यो मिल्छ ? मैले भनेको हामी सबै मिलेर गरौँ न । मलाई त अहिले निन्द्रा लाग्दैन । तपाईहरुलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? राज्यले दुःख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि के–के, के–के गर्न पाए भनेर हुन्छ र ? राज्य, सरकारले त जिम्मेवारीबोध गरेर विलम्ब नगरीकन नियमसंगत हुने काम छिटोछिटो गरिदिनुप¥यो नि । त्यसमा जे कमजोरी भएको छ, त्यसलाई सच्याइन्छ । तर यति कुराचाहीँ तपाईहरुसँग भन्नै पर्छ मैले राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्शानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ । आवश्यक कारबाहीको प्रक्रियामा जानेछु । यो पनि म तपाईहरुलाई खुलेर भन्न चाहन्छु । ठेक्का रद्द गर्नु बहादुरी होइन । मलाई थाहा छ । ठेक्का टर्मिनेट गर्नु रहर होइन । त्यो पनि थाहा छ । तर अहिले अलिकति समाइदिएर यति काम तपाईहरुले यो बेलामा गर्नुभयो भने के बुझ्छौँ भने, ढिलै भएपनि तपाईहरुलाई अलिकति समय दियो भने निर्माण व्यवसायीले काम पूरा गर्छन्, आयोजना पूरा गर्छन् भन्ने वातावरण त पाउनुप¥यो नि । जति हेर्दापनि उस्तै उस्तै । छलछाम गर्न सकिन्छ भन्ने दिन चाहीँ गए । जसरी मलाई निद्रा लाग्दैन तपाईहरुलाई पनि निन्द्रा नलागोस् न । जनता, राष्ट्रलाई यस्तो हालतमा पु¥याउन म पनि जिम्मेवार छु भन्ने तपाईहरुलाई पिरलो होस् न । तब पो मिलेर गर्न सकिन्छ । तपाईहरुको निम्ति म वन मन्त्रालय जानुपर्छ कि, अर्थ मन्त्रालय जानुपर्छ कि, उद्योग मन्त्रालय जानुपर्छ कि प्रधानमन्त्री कार्यालयमा जानुपर्छ कि सब ठाउँमा कुद्न तयार छु । आफै बसेर गर्नसक्ने काम सबै गराउन तयार छु । तर तपाईहरुले पनि मलाई बचन दिनुपर्छ । देशको विकास निर्माणको आयोजनाको जिम्मा लिएको छु, जुन प्रकारको म्याण्डेडमा मैले काम गर्छु भनेको छु, अब म गरेर देखाउँछु भनेर तपाईहरुको संकल्प छ कि छैन ? त्यो संकल्पको आवश्यकता छ ।


क्लिकमान्डु