अर्थतन्त्रमा दीर्घ रोग लाग्यो, उपचार नगरे हामी सकिन्छौं: गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा हनहनी ज्वरो आएको र त्यही ज्वरोले दीर्घरोग निम्त्याएको बताएका छन् । ज्वरोले निम्त्याएको दीर्घ रोगको समयमै उपचार नखोज्ने हो भने हामी सकिने उनले बताए ।

‘अहिले अर्थतन्त्रमा हनहनी ज्वरो आएको छ, यो दीर्घरोग हो, यो मौसम परविर्तन भएर आएको होइन,’ उनले भने, ‘हामीले अब ज्वरो आयो भनेर सिटामोल खाएर मात्रै हुँदैन, दीर्घ रोगको उपचार नगरे हामी सकिन्छौं ।’

अहिले हरेक क्षेत्रमा ज्वरो आएको र अबको चिन्ता भनेको ज्वरो कसरी रोक्ने र उपचार कसरी गर्ने भन्ने नै रहेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा उनले अहिले बैंकिङ क्षेत्रमा समस्या आएकाले सही ठाउँमा अनुगमन गरेको छ कि छैन भन्नेमा ध्यान दिन राष्ट्र बैँकलाई आग्रह गरे ।

‘मैले देखेसम्म पहिलो पटक निजी क्षेत्र बैंकविरुद्ध आन्दोलनमा आयो, कर्जा पाउने सम्भावना छैन,’ महामन्त्री थापाले भने, ‘उनीहरुले ऋण तिर्न सकेका छैनन् ।’ सरकारले ५ वर्ष होइन ५ महिनामा धेरै गर्नु छ भन्ने सोचेर त्यही अनुसार काम गर्नुपर्ने उनको भनाइ छ ।

सांसद थापाले सरकार सुस्त गतिमा चलेको स्मरण गराउँदै प्रधानमन्त्रीलाई आफूले गर्ने कामलाई छिटोछरितो बनाउन आग्रह गरे । २४-२५ वर्षपछि खुत्रुक्केमा पैसा घटेको उनले बताए । अहिले देशको अर्थतन्त्र कमजोर भयो भनेर जनतालाई डर देखाउनुभन्दा पनि प्रधानमन्त्रीले नै आफ्नो खुत्रुक्केमा पैसा कसरी घटिहरेको भन्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।


क्लिकमान्डु