युथ प्रेसिडेन्ट सिंगापुरसँग विनोद चौधरीको साक्षात्कार



काठमाडौं । अर्बपति एवं सांसद विनोद चौधरीले युथ प्रेसिडेन्ट सिंगापुरका प्रतिनिधिसँग साक्षात्कार गरेका छन् । नेपाल भ्रमणमा रहेको टोली र चौधरीबीच शुक्रबार साक्षात्कार कार्यक्रम भएको हो ।

सन् १९५० मा स्थापना भएको युथ प्रेसिडेन्ट संस्थाका प्रतिनिधि अहिले दुई दिने नेपाल भ्रमणमा छन् । नेपालसहित विश्वभरका १४२ देश सदस्य रहेको उक्त संस्थाअन्तर्गतको युथ प्रेसिडेन्ट सिंगापुरका ४० सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो ।

नेपालको संस्कृति, पर्यटनको सम्भावना, पूर्वाधार, विदेशी लगानीलगायतका विषयमा जानकारी लिने उद्देश्यसहित नेपाल आएको टोलीलाई चौधरीले व्यावसायिक अनुभव सुनाएका छन् ।

कार्यक्रममा चौधरीले नेपाल प्राकृतिक रुपमा एकदमै धनी भए पनि राम्रो व्यवस्थापन नहुँदा आर्थिक उन्नतिमा चुकिरहेको बताए । उनले आफूले व्यापार सुरु गर्दाको संघर्ष र सिंगापुर जाँदाका सम्झना पनि सुनाएका छन् । चौधरीले कार्यक्रममा भने, ‘त्यसैले, मेरो अबको मिसन भनेको नेपालमा छुटेको पाटोमा काम गर्ने हो ।’

चौधरीले नेपाली प्रतिनिधिसभामा युवा उपस्थिति बढ्दा आशाको संकेत देखिएको पनि बताए । उनले यसले देशमा लगानीको वातावरण पनि तयार गरेको जानकारी गराए । उनले भने, ‘नेपाल प्राकृतिक तथा मेडिकल हब हो । संसदमा युवाको उपस्थितिले नेपालको अबको भविष्य उज्ज्वल छ ।’

युथ प्रेसिडेन्ट संस्था सन् १९५० मा दक्ष नेतृत्व र दक्ष जनता (बेटर लिडर्स बेटर पिपुल्स) भन्ने नारासहित विश्वभर नेतृत्व क्षमताको विकासका लागि खुलेको हो ।


क्लिकमान्डु