९० अर्ब लगानीमा दुई जलविद्युत आयोजना बन्ने



काठमाडौं । नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले करिब ९० अर्ब लगानीमा दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै बुढीगण्डकी-‘क’ र बुढीगण्डकी-‘ख’ आयोजना निर्माण गर्ने जनाएको हो ।

कम्पनीले बुढीगण्डकी-‘क’ र बुढीगण्डकी-‘ख’ जलविद्युत आयोजना निर्माणका लागि ८८ अर्ब ३१ करोड २७ लाख रुपैयाँ लागत अनुमान गरेको छ । कम्पनीका अनुसार  बुढीगण्डकी-क जलविद्युत आयोजनाबाट १०३ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ ।

कम्पनीले वर्षायाममा प्रतियुनिट ४.० र सुख्खायाममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५  र ननपिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद-बिक्रीदर तोकेको छ ।

उक्त आयोजनाबाट कुल प्रतिघण्टा ५४१.३७ गिगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट वर्षायाममा प्रतिघण्टा १७ करोड ६ लाख किलोवाट र सुक्खायाममा प्रतिघण्टा ३६ करोड ७ लाख किलोवाट बिजुली उत्पादन गर्नेछ । उक्त आयोजना निर्माका लागि कम्पनीले ३१ अर्ब ३२ करोड १ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ ।

त्यसैगरी, कम्पनीले बुढीगण्डकी-ख जलविद्युत आयोजनाबाट २२६ मेगावाट बिलुजी उत्पादन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणबाट आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद-बिक्री दर पनि तोकेको छ । जसमा उक्त आयोजनाबाट उत्पादन हुने बिजुलीको खरिद तथा बिक्री मूल्य बुढीगण्डकी-कको बराबर नै तोकेको छ ।

आयोजनाबाट प्रतिघण्टा १२१४.१२ गिगावाट बिजुली उत्पादन हुनेछ । त्यस्तै, आयोजनाबाट वर्षायाममा प्रतिघण्टा ३७ करोड ७३ लाख किलोवाट सुक्खायाममा प्रतिघण्टा ८३ करोड ६६ लाख किलोवाट बिजुली उत्पादन हुनेछ । आयोजना निर्माणका लागि कम्पनीले ५६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

आयोजनाको सार्वजनिक सुनुवाइ चैत ९ गते हुने भएको छ । विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइमा सम्बन्धित सबै सरोकारवालालाई उपस्थित हुन आह्वान गरेको छ ।


क्लिकमान्डु