अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार कठोर बन्नुपर्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले मंगलबार आयोजना गरेको ‘नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रम’मा महामन्त्री थापाले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए ।

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताउँदै थापाले कांग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अघि सार्ने व्यवसायीहरु सामु प्रतिवद्धता जनाए ।

मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताउँदै महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए ।

अर्थतन्त्रको संरचनागत सुधारमा केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न कांग्रेसले इमान्दार प्रयत्न गर्ने थापाले बताए । अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै सांसदसमेत रहेका थापाले संसदमा प्रधानमन्त्रीदेखि सांसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए ।

कांग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल हटाउने काम गर्ने उनको भनाइ थियो । निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने उनले बताए ।

‘हाम्रो अर्थतन्त्रको एउटा खालको संरचना रहेको छ । सबल पक्ष र दुलर्वपक्षहरु पनि रहेका छन् । १९९८बाट अर्थतन्त्र बिस्तारै खुला हुन थालेपछि १९९०मा अझ खुला हुँदै गयौं । त्यो बीचमा विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आउँदा एउटा ढाँचाबाट चल्दै आएका छौं । संरचनागत समस्याहरु छन्’ थापाले भने, ‘नेपालमा १८ हजार युवालाई रोजगारी सिर्जना गर्छौं । वार्षिक ५ लाख युवाहरु श्रमरोजगारको क्षेत्रमा आउँछन् । लाखौं युवाहरु विदेशमा गएका छन् । विदेशमा गएर युवाहरुले पठाएको रेमिट्यान्सबाट आयात गर्ने,सरकारी खर्च गर्न समेत रेमिट्यान्सबाट गर्नुपर्ने संरचना छ ।’

‘अर्थतन्त्रको संरचना परिवर्तन नगरे कुनै न कुनै समयमा अर्थतन्त्र थला पर्छ । मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ । चालु खर्च गर्न समेत नसकेको अर्थमन्त्रालयमा सबै कुराहरु अड्केर बसेको छ । अबको सरकारले यो विषयमा ध्यान दिएर काम गर्नुपर्ने छ । अर्थतन्त्रको तथ्याङ्क हेर्दा बाटोमा बसेर कराइहाल्नुपर्ने अवस्था छैन’ थापाले भने ।


क्लिकमान्डु