पोखरामा हस्तकला मेला आयोजना हुने




पोखरा । स्वदेशी हस्तकला सामानको प्रयोग गरौँ, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ । महिला सीप विकास संस्थाद्वारा फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका अवसरमा पोखरा सभागृहमा मेला आयोजना हुन लागेको हो ।

संस्थाका अध्यक्ष देवी गुरुङले आफ्नो संस्थाले हस्तकलाका माध्यमबाट महिला सशक्तिकरणमा विशेष योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँका अनुसार उक्त प्रदर्शनी मेलामा संस्थाबाट उत्पादिन विभिन्न सामग्री राखिने छन् ।

संस्थाले हालसम्म करिब २१ हजार महिलालाई तालिम प्रदान गरिसकेको र हाल तीन सय ५० महिला उद्यमी आवद्ध रहेको कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिए ।

विसं २०३२ मा स्थापना भएको सो संस्थाले विशेष गरी आर्थिक रुपमा विपन्न, अपागङ्गता भएका, एकल र द्वन्द्वपीडित महिलालाई सीपमूलक तालिम प्रदान गर्दै स्वरोजगार बनाउँदै आएको छ । संस्थाले विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दै तालिम र आयमूलक कार्यक्रमलाई जोड दिँदै आएको उनले बताए ।

संस्थाको पोखरा ८ सिमलचौरमा करिब तीन रोपनी भाडाको जग्गामा मुख्य कार्यालय सञ्चालित छ भने पोखरा १३ बाँझापाटन, पोखरा १९ माथिल्लो लामाचौर, पोखरा २७ रिठेपानि र पोखरा ३० गगनगौडामा सम्पर्क कार्यालय सञ्चालित छन् ।

निर्देशक खड्का अनुसार संस्थाले काँचो धागो खरिद गरी आफै ‘नेचुरल तथा केमिकल डाइङ’ गरी सिकाइ हाते तान बुनाइ पश्चात विभिन्न प्रकारको झोला, पर्स, गुडिया र घर कोठा सजावटका सामान उत्पादन गर्दछ । स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोष्टाबाट फूल, गुडिया लगायतका अनेकाँैं सामान उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात गर्दछ भने २० प्रतिशत सामान पोखरा तथा पर्यटकीय क्षेत्रमा विभिन्न सोरुमबाट बिक्रीवितरण हुने गरेको छ ।

संस्थाले हस्तकला सामान निर्यात गरी विदेशी मुद्रा भित्र्याइ देशको अर्थतन्त्रमा योगदान पु¥याएको निर्देशक खड्काले बताउनुभयो । संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशमा अधिक निर्यात हुने गरेको र संस्थालाई सरकार तथा अन्य विदेशी सङ्घ संस्थाबाट कुनै प्रकारका सहयोग प्राप्त नभएको उनको भनाइ छ ।
विगतमा यस संस्थामा विभिन्न अन्तर्राष्ट्रिय निकाय भीएसओ, पीआइईसिई, सिओआरई, कोइका, जाइका र सिईसीआइका स्वयंसेवकले सेवा प्रदान गरेका छन् । संस्थाले आफ्नो शाखा कार्यालय पोखरा २७ मा शिशु स्याहार केन्द्र पनि सञ्चालन गरेको छ । संस्थामा आवद्ध दिदीबहिनीको नानीबाबुहरुलाई शिक्षा आर्जनका लागि समय समयमा नगद तथा जिन्सी, छात्रवृत्ति प्रदान गर्दै प्रोत्साहन गर्ने गरिएको छ । साथै महिलालाई स्वास्थ्यसम्बन्धी विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।


क्लिकमान्डु