६ अर्ब लगानीमा मध्य चमेलिया जलविद्युत आयोजना बन्ने



काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताको विद्युत आयोजना बन्ने भएको छ । दार्चुला पावर प्रालिले मध्य चमेलिया जलविद्युत आयोजनामार्फत् २८.३०४ मेगावाट विजुली उत्पादन गर्ने भएको हो ।

कम्पनीले आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन पेस गरेको छ । कम्पनीले मार्मा गाउँपालिकाको वडा २,३,४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लाम्बगरमा बाँध बनाई ७ हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत् सतही विद्युत उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले उक्त आयोजना निर्माणका लागि ६ अर्ब २३ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीअनुसार आयोजनाबाट सुख्खा महिनाको समयमा प्रतिघण्टा ६७.१० गिगावाट विजुली उत्पादन हुनेछ भने वर्षायाममा प्रतिघण्टा ११८.५२ गिगावाट उर्जा उत्पादन हुनेछ । जसमा कम्पनीले प्रतिघण्टा वार्षिक १८५.६२ गिगावाट उर्जा उत्पादन गर्नेछ ।

आयोजना निर्माणका लागि ३६.२९६४ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । आयोजनाले ओगट्ने जमिन र एसपीएएफको लागि ६ करोड ५१ लाख १७ हजार रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको छ ।

त्यसैगरी, निजी रुख कटानको क्षतिपूर्तिमा ५ लाख १० हजार रुपैयाँ, एक सिजनको अन्नको क्षतिपूर्ति ५४ लाख ६९ हजार रुपैयाँ, वातावरण प्रभाव न्यूनिकरण र व्यवस्थापनका लागि ३ करोड ९४ लाख ६६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

साथै, ५४ लाख ६९ हजार रुपैयाँ वातावरण अनुमान लागत गरी र २५ लाख रुपैयाँ वातावरणीय परिक्षण लागत गरी ११ करोड ६० लाख ३३ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यस्तै, उक्त आयोजना ३ वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेछ ।


क्लिकमान्डु