क्लासिक टेकले एकै वर्ष गर्‍यो ८७ करोडको व्यापार



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एकै वर्ष ८७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा साढे ८७ करोडको व्यापार गरेको हो ।

सन् २०२१ मा ३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा ६ करोड ७० लाख रुपैयाँको गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १७ प्रतिशतले बढेको छ । साथै, नाफा पनि बढेको उल्लेख छ । सन् २०२१ मा १६ प्रतिशत नाफा कमाएको कम्पनीले सन् २०२२ मा १८ प्रतिशत नाफा कमाएको छ ।

सन् २००९ मा जेरो पोइन्ट रेमिट प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०१० मा इन्टरनेट प्रदायक संस्थामा परिणत भएको थियो । त्यसपछि कम्पनीले सन् २०१४ देखि नेटवर्क सर्भिस प्रोभाइडरको पनि सेवा दिँदै आएको छ ।

कम्पनीले करिब एक दशकदेखि इन्टरनेटको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले व्यक्तिगत इन्टरनेट सेवा, फाइबर अप्टिकल इन्टरनेट अर्थात् एफटीटीएच इन्टरनेट सेवा दिँदै आएको छ ।

नेपालको चौथो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रुपमा स्थापित कम्पनीले विगत १२ वर्षदेखि व्यापार गर्दै आएको छ । कम्पनीले नेटवर्क विस्तारका लागि बजारअनुसार परिमार्जन गरी ठूलो लगानी गर्दै आएको छ ।

कम्पनीले देशभर इन्टरनेट जडानलाई तीब्रता दिनका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २९ करोड ९९ लाख रुपैयाँको रेटिङ गराएको छ ।

जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ७८ करोड ९९ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि ५१ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

हालसम्म देशभर ६० वटा इजाजतप्राप्त इन्टरनेट सेवा प्रदायक कम्पनी छन् भने २२ लाख ३० हजार बढी इन्टरनेट ग्राहक छन् । देशभर इन्टरनेट जडान तीब्र बढिरहेको अवस्थामा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रकारका अफर दिँदै आएका छन् । त्यस्तै, बजारमा बढ्दा प्रतिस्पर्धाले गर्दा कम्पनीको मूल्य र नाफामा निकै असर परेको कम्पनीको भनाइ छ ।

कम्पनी नेपालको दोस्रो चौथो इन्टरनेट सेवा प्रदायक कम्पनीको रुपमा स्थापित हुँदा कम्पनीले १०.३० प्रतिशत बजार हिस्सा ओगटेको जनाएको छ । कम्पनीको देशभर २ लाख ३० हजार ग्राहक रहेको उल्लेख छ ।

कम्पनीले देशको ७४ वटा जिल्लामा इन्टरनेटको सेवा प्रदान गरेको जनाएको छ । उपत्यकामा मात्रै २८ वटा शाखा र देशभर १०४ वटा शाखा रहेको कम्पनीको प्रबन्ध निर्देशक प्रमेश खरेल हुन् ।


क्लिकमान्डु