प्राधिकरणका उच्च तहका कर्मचारीको सरूवा, वरिष्ठ कर्मचारी हेड अफिस बाहिर



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले १२ औं तहका वरिष्ठ कर्मचारीलाई प्रधान कार्यालय बाहिर पठाएर कनिष्ठ कर्मचारीलाई विभिन्न निर्देशनालयको जिम्मेवारी दिएका छन् ।

प्रदीप अधिकारी

वरिष्ठ कर्मचारीलाई प्रधानकार्यालय बाहिर लखेटिएको भन्दै प्राधिकरणका कर्मचारी असन्तुष्ट भएका छन् ।

त्यसो त प्राधिकरणका महानिर्देशक अधिकारी आफैं पनि ११ औं तहका कर्मचारी हुन् ।

एभिएशन सर्भिसेज निर्देशनालय प्रमुख रहेका प्राधिकरणको १२ औं तहमा कार्यरत हंश राज पाण्डेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा गरिएको छ ।

भैरहवामा १२ औं तहको दरबन्दी कटौती गर्ने छलफल भईरहँदा प्राधिकरणका वरिष्ठ कर्मचारीलाई भैरहवामा महाप्रबन्धक बनाईएको हो।

भैरहवाका महाप्रबन्धक गोबिन्द दाहाल फागुन २२ गते सेवानिभृत हुँदैछन् ।

एभिएशन सर्भिसेज निर्देशनालयको जिम्मेवारी उत्सव खरेललाई दिने सम्भावना भएको श्रोतले जानकारी दिएको छ। खरेल १० औं तहका कर्मचारी हुन।

यस्तै, एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालयका प्रमुख देव चन्द्रलाल कर्ण नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाईएको छ ।

प्रतिष्ठान प्रमुख रहेका प्रताप तिवारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धक बनाईएको छ ।

तिवारीलाई गत वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिष्ठानमा सरूवा गरिएको थियो।

विमानस्थल कार्यालय प्रमुख रहेका प्रेम नाथ ठाकुर घुस लिएको आरोप लागेपछि निलम्बित छन् ।

एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालयको जिम्मेवारी नबिना कर्माचार्यलाई दिईएको छ। कर्माचार्य ११ औं तहकी कर्मचारी हुन् ।

हाल रिक्त रहेको कर्पोरेट निर्देशनालयको जिम्मेवारी जगन्नाथ निरौलालाई दिने निर्णय गरिएको छ । निरौला ११ औं तहका कर्मचारी हुन् ।


क्लिकमान्डु