पोखरा–भद्रपुर सीधा उडानले व्यवसायी खुसी



कास्की । निजी क्षेत्रको बुद्ध एयरले मार्च ९ बाट पोखरादेखि भद्रपुरसम्म सीधा हवाई उडान गर्ने तयारी गरेको छ । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ,’ स्टेसन म्यानेजर गौतम बरालले भने, ‘अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुनेछ ।’

म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् ।

काठमाडौँ, भैरहवा, नेपालगन्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६:१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुका ६:५५ मा उडान हुनेछ । हवाई उडान दूरी एक घण्टा १० मिनेटको हुनेछ ।

पोखरा–भद्रपुर सीधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नुपरेकाले यात्रुको सहजताका लागि सीधा उडान सञ्चालन गर्न लागिएको उनले बताए । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने मेनेजर बरालको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटि बढ्ने र आन्तरिक पर्यटन प्रवर्धन हुने विश्वास व्यक्त गरे । ‘पोखरा पर्यटकीय सहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सीधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको प्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवाला समक्ष आग्रह गरे ।

पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटो र आरामदायी यात्रामा रुची राख्ने हुँदा एयर कनेक्टिभिटीले पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए । पोखरा–भद्रपुर सीधा उडानले पर्यटन प्रवर्धन हुने उनको भनाइ छ । सीधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताए ।

यससँगै बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ ।

अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घण्टा बिताउनाका साथै २४ सयदेखि २७ सयसम्म भाडा तिर्नुपर्छ । हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा पनि ९ हजार ६ सय ८५ रुपैयाँ पर्छ ।


क्लिकमान्डु